जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १४:५०

सरकारले भन्यो : संक्रमणको भयावह अवस्था आउन सक्छ, दशैं–तिहार मनाउँदा विशेष सतर्कता अपनाउनोस


काठमाडौं, असोज २१ । सरकारले मुलुक अझै कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले दशैं तिहार मनाउँदा विशेष सतर्कता अपनाउन सबै नागरिकमा अपिल गरेको छ ।

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो अपिल गर्नुभएको हो । मानिसहरु स्वस्थ रहेमा चाडपर्वहरु फेरि आउने भन्दै मन्त्री ज्ञवालीले आशीर्वाद बचाएर राख्न सबैमा आग्रह गर्नुभयो ।

‘काठमाडौं उपत्यकामा ४० लाखको बसोबास रहेको छ, यहाँ जोखिम अनियन्त्रित भएमा भयावह अवस्था आउन सक्छ,’ सरकारको तर्फबाट औपचारिक आग्रह गर्दै प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘कोरोनाको उच्च जोखिम पनि यही उपत्यकामैं भएकाले काठमाडौंबाट घर जाँदा र घरबाट काठमाडौं आउँदा विशेष ध्यान दिन म विशेष आग्रह गर्दछुँ ।’

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेको उल्लेख गर्दै सरकारले सतर्कता नै संक्रमणबाट जोगिने प्रमुख उपाय रहेको बताएको छ ।