जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १३:०७

कांग्रेस तरुण दलका जिल्ला उपाध्यक्ष एवं चरीलाई गोली ठोक्ने धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ


धादिङ, असोज २३

धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधिहरलाई धम्की दिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय धादिङले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ । गत वर्षको सिद्धलेक गाँउपालिकाको आन्तरिक आय ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनि गाँउपालिका क्षेत्रबाट अवैध तरिकाले बालुवा निकाल्ने गरेको भन्दै गाँउपालिकाले त्यसो नगर्न निर्देशन दिँदा उल्टै गाँउपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको भन्दै गाँउपालिकाका अध्यक्षका जाहेरीको आधारमा आज राधे भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता डिएस्पी लोकनाथ तिमल्सिनाले बताउनुभयो ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । डिएसपी तिमल्सिनाका अनुसार पक्राउ परेका भण्डारीमाथी अर्काको नाममा ठेक्का पारेको, ठेक्कापट्टाको म्याद समाप्त भएपछि पनी गाँउपालिका क्षेत्रबाट अवैध तरिकाले बालुवा निकालेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोप लागेको छ । अहिले भण्डारीलाई शान्ती सुरक्षा भंग गरेको आरोपमा मुद्धा दर्ता गर्ने तयारी भएको डिएस्पी तिमल्सिनाले जानकारी दिनुभयो । उहाँ नेपाली कांग्रेस निकट नेपाल तरुण दल धादिङका जिल्ला उपाध्यक्ष समेत हुन् ।