जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ०८:०७

सुरु भयो सुपथ मुल्य पसल, किनमेलमा सहज


काठमाडौं, कात्तिक २

सरकारले देशका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने चिनी भने अधिकांश पसलमा नपाइएको उपभोक्ताको भनाइ छ । चाडपर्वलाइ लक्षित गरी राजधानीमा खोलिएका सुपथ मुल्यका पसलहरुमा उपभोक्ताको संख्या उल्लेख्य छ ।

भौतिक दुरी र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गरिएका पसलमा अन्य पसलहरु भन्दा केही सुपथ मुल्यमा सामग्री पाइएको भनाइ उपभोक्ताको छ । सुपथ मुल्य पसलमा दाल, चामल, नुन, मसलाका साथै भान्छामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडाहरु समेत बिक्रीका लागि राखिएको छ । यसले उपभोक्ताहरुलाई किनमेलमा सहज महशुस भएपनि प्रायको किनमेल सूचीमा रहने चिनि भने सहजरुपमा पाउन नसकेको गुनासो उपभोक्ताको छ ।

उपत्यकामा रहेका १३ वटा सुपथ पसल मध्ये ५ वटामा मात्र चिनी पाइएको उपभोक्ताको भनाइ छ । तर उपभोक्ताको आकर्षणका कारण सामग्रीहरु सकिएपनि तत्कालै उपलब्ध गराउने गरिएको भनाइ विक्रेता कर्मचारीको छ । सरकारले सञ्चालन गरेका सुपथ मुल्य पसलको संख्यालाई अझ बढाउन सकेमा कोरोनाका कारण आम्दानी गुमाएका सर्वसाधारणलाई राहत पुग्ने पनि उपभोक्ताको भनाइ छ ।