बाजुरा, कात्तिक २८ । बूढीनन्दा नगरपालिका ३ मा स्थित कालिका आधारभूत विद्यालय भुल्यानाका अध्यक्ष र प्रधानअध्यापकले शिक्षिकाको तलव आफै खाएको तथ्य बाहिर आएको छ । विद्यालय व्यवस्थापन समिति बैठकको निर्णयले २०७४ को जेठमा निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षक निजी स्रोतबाट नियुक्त गरिएकी शिक्षिका सीता तिमिल्सिनाको तलव अध्यक्ष र प्रधानअध्यापकले खाएका हुन ।
तिमिल्सिनाका अनुसार सुरुमा ६ हजार पाँच सय तलब दिने निर्णय पनि भएको थियो । सो तलवमा २०७४ को शैक्षिक सत्र सकिएपछि २०७५ देखि स्कुलमा पहिलेको तलबमा काम गर्न नसक्ने जनाउ दिए पनि बढाउने आश्वासनपछि पढाउनुपर्यो । तर, तलब नबढेपछि पढाउन आउँदिनँ भन्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले तलबै रोकिदिएका हुन । २०७५ पुस र माघमा पुनः समितिको बैठक बसेर परिचर तारा विक र निमावि शिक्षक सीता तिमिल्सिनालाई पाँच हजार तलब बढाउने निर्णय भयो ।
मौखिक रुपमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगवीर रोकायाले तलब ११ हजार ५ सय भए पनि १२ हजार दिन्छु भनेपछि आफूले काम गरेको तिमिल्सिना बताउनु हुन्छ । ‘२०७६ वैशाखदेखि अब पढाउनँ सक्दिनँ । तलब पनि दिनुहुन्न, उसैमाथि न्यूनतम पारिश्रमिक पाइनँ’, समितिका अध्यक्षसँग गुनासो राखें । उनले सुनेको नसुनेझैं गरे । स्कुल छाडूँ पहिले पढाएको पैसा लिन बाँकी छ, नछाडूँ तलबै रोकिदिए’, तिमल्सिनाले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगवीर रोकायाले शिक्षिका तिमिल्सिनालाई पूरै तबल नदिनू, पढाएर बसे मात्रै पहिलो वर्षको तलब पाउँछिन् । हैन भने पहिले पढाएको तलब नदिनू भनी प्रधानाध्यापलाई धम्की दिएको घटना पनि योबीचमा बाहिर आएको छ ।
तिमिल्सिनाले २०७५ चैतयता तलब पाउनु भएको छैन । मेरो नामको तलब प्रधानाध्यापक र समितिका अध्यक्ष रोकायाले मिलेर खाएका हुन् । तलब लिएको भनी किर्ते भौचर बनाएर पाँच हजार दिएकामा १० हजार, १८ हजार दिएकामा २५ हजार बनाएर खाएको देखियो । यो कुरा प्रधानाध्यापक मानसिङ विष्टले स्वीकार गरेसकेका छन् । यसको फोन रेकर्ड मैसँग छ,’ उहाँको भनाई छ । जिल्लामा अन्य तहमा पनि यसरी शिक्षकलाई निजी स्रोतमा राख्दै तलब नदिएर सताउने घटना बढेका छन् ।
‘मजस्तै पीडित भएका धेरैले यसरी स्कुल छाडेका रहेछन् । पूरा तलब नपाएकाहरु झनै पीडित छन् । व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक मिलेरै विद्यालयको पैसा आफूले चलाउने तर शिक्षकलाई तलब दिने गरेका छैनन् । छात्रवृत्तिको रकम हिनामिना गर्ने, स्कुल नपढ्ने बाहिरका विद्यार्थीको पनि नक्कली सर्टिफिकेट बनाउने र पैसा लिने गरेको छ’, शिक्षिका तिमिल्सिनाले भन्नुभयो । लामो समयसम्म तलब नदिएपछि तिमिल्सिनाले न्याय पाऊँ भनी बूढीनन्दा नगरपालिकामा उजुरी दिनुभएको छ । बूढीनन्दासँग २०७५ माघको व्यवस्थापन समितिको निर्णय झिकाएर पाउनुपर्ने तलब उपलब्ध गराइदिन र समितिका अध्यक्ष रोकाया र विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्