काठमाडौं, पुस १४ । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य अभियुक्त पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंक घोटालाका मुख्य आरोपी पद्म ज्ञवालीलाई सोमवार पक्राउ गरेको हो ।
पल्पा घर भएका ज्ञद्दवाली काठमाडौंको चन्द्रागिरि नगरपालिका निवासी हुन । सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार ज्ञवाली सुन जाँचकी हुन । ‘उनी मुख्य व्यक्ति हुन्। उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको थियो,’ डिआइजी थापाले भन्नुभयो ।
सिआइवीले सो बैंक घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका हुन । ‘कर्मचारीहरू कतिसम्म समातिन्छन अनुसन्धानको विषय भयो । प्रमुख ऋणीहरू समातिए,’ डिआइजी थापाले भन्नुभयो । उहाँका अनुसार अव सहायक ऋणीहरू तीन–चार जना समात्न बाँकी छन ।
हालसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका ९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर ९ घर भई चन्द्रगिर ११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर ११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती रहेका छन ।
खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो । उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन । उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए । उनी ललितपुर १४ विशालचोका हुन । राईद्वयले २०७४ सालयता पटक पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिएका थिए ।
बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो ।













प्रतिक्रिया दिनुहोस्