जनता टाइम्स

२५ पुष २०७७, शनिबार ११:४४

धनकुटामा सून्य बन्यो प्रचण्ड-माधव समुह, ओलीको पक्षमा उभिए राजेन्द्र राईसहित तीनै तहका जनप्रतिनिधि


धनकुटा, पुस २५ । पार्टी विभाजनपछि केही समय चुप बस्नुभएका नेकपा धनकुटाका अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितका सबै जनप्रतिनिधि प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा खुल्नुभएको छ । विघटित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको नेकपामा खुल्नुभएको हो । धनकुटामा तत्कालीन नेकपा एमालेले सबै तहको निर्वाचनमा एकल जितेको थियो ।

जनताले ५ वर्षका लागि केपी ओली नेतृत्वमा सरकार चलाउन दिएको जनादेश विपरीत पार्टी नेतृत्वलाई अपदस्थ गर्ने र विधान विपरीत गणितीय खेलमार्फत् सत्ता कब्जा गर्ने तथा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने गतिविधि सन्चालन भएको उहाँहरुको निश्कर्ष छ । धनकुटाका जनप्रतिनिधिले मुलुकलाई गतिहीन र पार्टीलाई अनिर्णयको बन्दी अवस्थामा राख्न उपयुक्त नभएकाले प्रधानमन्त्री ओलीले जनतासमक्ष जाने साहसिक निर्णय गरेको भन्दै ऐक्यवद्धता जनाउनु भएको छ ।

विज्ञप्ति जारी गर्नेमा जिल्ला अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्यहरु निरन राई, इन्द्रमणि पराजुली र विनादेवी राई हुनुहुन्छ । त्यस्तै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकवहादुर चुवान र उपप्रमुख वंगलादेवी राई पनि ओली पक्षमै लागेका छन् । जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि ओली नेतृत्वमा रहने घोषणा गर्नुभएको हो ।
यसरी घोषणा गर्नेमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उपमेयर शकुन्तला बस्नेत, पाख्रिबास नगरपालिकाका मेयर वृषकुमार राई, उपमेयर देवकला तिम्सिना र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल तथा उपमेयर मन्जुकुमारी कार्की हुनुहुन्छ ।

त्यस्तै सहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखा, उपाध्यक्ष विन्द्र राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्बु र उपाध्यक्ष भीमकला श्रेष्ठले पनि ओली नेतृत्वकै नेकपामा रहने घोषणा गर्नुभएको हो ।