जनता टाइम्स

२६ पुष २०७७, आईतवार १०:०७

आज राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुँदै, अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीको सम्बोधन


काठमाडौं, २६ पुस

पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन १० नवित्दै अन्त्य हुन लागेको छ । राष्ट्रिय सभामा विजनेशनको अभाव देखाउँदै अधिवेशन अन्त्य गर्न लागिएको हो । सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय सभामा एक सदस्यले भन्नुभयो, ‘प्रधानमन्त्रीको विशेष सम्बोधन पछि अधिवेशन अन्त्य हुन्छ ।’ उहाँका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा आज विशेष समय र शुन्य समय छैन । प्रधानमन्त्रीको विशेष सम्बोधन हुन्छ । सम्भवतः त्यसपछि अधिवेशनको पनि अन्त्य हुन्छ ।’

संघीय संसदका दुई सदनमध्ये प्रतिनिधसभालाई प्रधानमन्त्री ओलीले विघटन गरेपछि राष्ट्रिय सभा मात्रै बाँकी रहेको छ । पार्टीभित्रको किचलो नमिलेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा समेत यही पुष ५ गते विघटन गनुभएको थियो ।

तर, संवैधानिक बाध्याताका कारण राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुष १७ गते बोलाइएको थियो । संघीय संसदको एक अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभा कहिल्यै अन्त्य नहुने सदन हो ।