१६ हजार कर्मचारी र ५२ स्वयंमसेविकाहरु परिचालन गर्ने सरकारको तयारी
काठमाडौं, पुस २७
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप छिट्टै आउनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यथासिघ्र कोरोना विरुद्धको खोप आउने र न्यायोचित तवरबाट वितरण गरिने बताउनुभयो । सरकारले खोप ल्याउनका लागि कुटनितिक र राजनीतिक पहल गरिरहेको भन्दै उहाँले नीतिगत तयारी पुरा भैसकेको र बिभिन्न देशका राजदुतसंग भेटघाट र छलफल गरेको पनि बताउनुभयो ।
यस्तै मन्त्री त्रिपाठिले खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शैय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘खोपको प्राप्ति अन्य विषयको प्राप्ति जस्तो होइन। यो स्वास्थ्य सामग्री भए पनि राजनीतिक सामग्री हुन पुग्यो। सीमित देशमा खोप बनेकोले प्राप्तिमा ढिला भयो ।’
खोपको पूर्व तयारीको लागि सरकारले एक करोड ७७ लाख खोपको डोज भण्डारण गर्नसक्ने क्षमता रहेको भन्दै यसमा दुईदेखि ८ डिग्री तापक्रममा भण्डारण सकिने सुनाउनुभयो । कोभिड–१९ को खोप नेपालमा ल्याउने तयारी अगाडि बढेसँगै नेपालमा संचालनमा रहेका १६ हजार खोप केन्द्रहरु, १६ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविकाहरु परिचालन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।













प्रतिक्रिया दिनुहोस्