जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १८:३९

सडकबाट अदालतलाई धम्काउने काम बन्द गर्न कांग्रेस सभापति देउवाको चेतावनी


सिन्धुपाल्चोक, पुष २८

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडकबाट अदालतलाई धम्क्याउने काम बन्द गर्न चेतावनी दिनु भएको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्नैपर्छ भनेर अदालतलाई धम्क्याउन नहुने भन्दै त्यसले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने बताउनु भएको हो ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै सभापति देउवाले आन्दोलन गरेर, धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृति गलत रहेको बताउनु भयो । निक्कै आक्रोशित देखिनु भएका देउवाले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दा लाई प्रभावित हुने गरेर सडकमा आन्दोलन गर्ने धम्काउने हो भने त जसले बढी सडकमा मान्छे जम्मा गर्छ उसकै पक्षमा निर्णय गरे भै गो नि त ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ससंद विघटन असंबैधानिक भएपनि अदालतमा बिचाराधीन मुद्दा भएकोले आफूहरु अदालतबाट आउने फैसला स्वीकार गर्न तयार रहेको स्पष्ट पार्नुभयो । ‘अदालतले संसद पुनस्थापना गरेछ भने हामी संसदमा सशक्त रुपमा प्रस्तुत हुन्छौ, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौ’, उहाको भनाई थियो ।