जनता टाइम्स

५ माघ २०७७, सोमबार ०८:४४

मौसम अपडेट : पानी नपरेसम्म मौसम सफा नहुने, बालबालिका र वृद्धवृद्धाको ख्याल गर्न सुझाव



काठमाडौँ, ५ माघ । पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उहाँले बताउनुभयो । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविद्को भनाइ छ ।

पानी पर्नका लागि पर्याप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन । दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित भएको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवाँलो लाग्ने गरेको छ । तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ ।

तराईमा बाक्लो हुस्सु लागे पनि यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् बासीले बताउनुभयो । उहाँकाअनुसार ४८ घण्टासम्म निरन्तर हुस्सु लागेमा मात्रै शीतलहर भन्ने गरिन्छ । अहिले दिउँसो अबेर एकछिन घाम देखिने र बिहान फेरि हुस्सु लाग्ने गरेको छ । तत्काल शीतलहर चल्ने सम्भावना नभए पनि चिसो भने बढ्ने मौसमविद्को भनाइ छ ।

चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरको सुझाव छ । चिसोको बेला सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।