जनता टाइम्स

७ माघ २०७७, बुधबार ०९:२०

अवश्विासको प्रस्ताव विधिसम्मत ढंगबाट आएको छैन – मुख्यमन्त्री


विराटनगर, माघ ७ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यहि माघ ५ गते प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विभाजनको असर प्रदेशस्तरमा पुगेको छ । यसबीचमा प्रदेश १ को प्रदेशसभाको हिउँदे अभिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईबिरुद्ध परेको अविश्वासको प्रस्ताव सभामा निर्णायर्थ प्रस्तुत हुनेछ ।

नेकपा ओलीपक्षका मुख्यमन्त्रीबिरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दाहाल माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो ।

तर, ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन् । मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दाहाल माधव नेपाल पक्षले दर्ता गरेको अविश्वासको प्रस्ताव रित नपुगेको भन्दै खारेज हुनुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री राईले भन्नुभयो , ‘मेरो बिरुद्ध दर्ता भएको अवश्विासको प्रस्तावको दर्ता प्रकृया नै विधिसम्मत ढंगबाट आएको छैन। त्यसैले प्रस्तावमाथि छलफल गर्नु आवश्यक देखिदैन । त्यो खारेज हुनुपर्छ ।’

कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् । प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनुपर्नेछ । प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्यक पर्छ । प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समूह अल्पमतमा छन् । नेकपा दल विभाजन नभए पनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्थामा छैनन् ।