जनता टाइम्स

८ माघ २०७७, बिहीबार १७:३०

प्रेस संगठनको संयोजकमा गणेश बस्नेत चयन


काठमाडौँ, माघ ८ । प्रेस सङ्गठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल सङ्गठनका काममा निष्क्रिय रहनुभएको जनाउँदै उहाँलाई जिम्मेवारीबाट बिदा गर्दै बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको हो ।

भेलाले सङ्गठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय पनि गरेको छ । सङ्गठनले विधान संशोधन पारित गर्दै केन्द्रीय कमिटीको सदस्य ३५१ बनाउने निर्णय पनि गरिएको छ ।

भेलाले नयाँ परिस्थितिमा साङ्गठनिक कामलाई केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोशियट क्षेत्रमा एकताबद्ध भई सबै तहमा समावेशीताका आधारमा पुनःगठन र पुनःव्यवस्थापनसहित व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी जागरणको सन्देश प्रवाह गर्ने सङ्कल्प पनि गरेको छ । भेलामा सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले उक्त घोषणा गर्नुभएको थियो ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका साथ भएको भेलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन भई ताजा निर्वाचनको लागि २०७८ वैशाख १७ र २७ गतेको मितिसमेत घोषणा हुनुलाई बाध्यात्मक र सही ठहर गर्दै स्वागत गरेको छ । यस विषयमा सर्वोच्च अदालतबाट हुने फैसलाका आधारमा मुलुकको स्थिरता र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु नै अपरिहार्य आवश्यकता रहेको भेलाले ठहर गरेको छ ।

“गत निर्वाचनमा वाम गठबन्धन र साझा चुनावी घोषणापत्रका आधारमा जनताले गरेको विश्वास र पार्टी एकताको अवसरको सदुपयोग गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, विकास र सुशासनका क्षेत्रमा तीव्रताका साथ काम हुनुपर्नेमा नेकपाको नेतृत्व तहमा उत्पन्न अन्तरविरोध र कलहले जनस्तरमा निराशा र चिन्ता उत्पन्न गराएको छ ।”

भेलाबाट पारित प्रस्तावमा भनिएको छ, “यो भेला जनताका ती चाहनालाई सम्मान गर्दै आपसी गालीगलौज, अभद्र विरोध र कटुता प्रदर्शन नगरी एकता र प्रगतिशील रुपान्तरणका पक्षमा दृढताका साथ अघि बढ्न सम्बन्धित सबैमा अपिल गर्दछ ।” भेलाले श्रमजीवी पत्रकारको तोकिएको पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा अझै पनि सबै सञ्चारमाध्यममा कार्यान्वयन नभएका सन्दर्भमा सोको सही कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

यस्तै लोककल्याणकारी विज्ञापन समयमै वितरणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन पत्रकार आचारसंहिताको पालना गर्दै सञ्चार क्षेत्रबाट अझ प्रभावकारी सन्देश प्रवाह गर्न भेलाले अपिल गरेको छ । भेलाले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका क्रममा हालै नमूनाका रुपमा सार्वजनिक गरेको ‘नागरिक एप्स’ ले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत् सुशासन र पारदर्शितामा योगदान दिने भएकाले यसलाई प्रभावकारीरुपमा पूर्ण कार्यान्वयनतर्फ लान सरकारसमक्ष माग गरेको छ ।

यस्तै कोरोना महामारीका कारण प्रभावित सञ्चारकर्मी, साना तथा स्वरोजगारमूलक सञ्चार संस्था र सञ्चारगृहलाई उचित आर्थिक सहुलितपूर्ण राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न तथा महामारीको बहानामा श्रमजीवी पत्रकारलाई निस्काशन, तलब सुविधा कटौती गर्ने, बेतलवी बिदा दिने सञ्चारमाध्यममाथि अनुगमन गरी श्रमजीवी पत्रकारको हक हित संरक्षण गर्न गराउन नेपाल सरकारसँग विशेष आग्रह गरिएको छ । साथै आम पत्रकारको जीवन बीमा गराउँदै ६० वर्ष उमेर पुगेका, अपाङ्गता भएका र दीर्घरोगी पत्रकारको निर्वाह भत्ता व्यवस्था गर्न पनि माग गरिएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रेस सङ्गठन नेपाल
दोस्रो राष्ट्रिय भेला
८ माघ २०७७, काठमाडौँ
समसामयिक प्रस्तावहरु

श्रमजीवी र जनपक्षीय पत्रकारहरुको अगुवा सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस संगठन नेपालको आधार’ भन्ने नाराका साथ यही २०७७ माघ ८ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भयो । नयाँ राजनीतिक परिस्थितिमा गरिएको यस भेलाले समसामयिक र प्रेस जगतका विषयमा छलफल भई सङ्गठनलाई एकताबद्ध र गतिशील बनाई देशव्यापीरुपमा परिचालान गर्ने सङ्कल्प गरेको छ ।
प्रस्तावहरु :
१। नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको निर्वाचनबाट बहुमतसहित स्थिरता र समृद्धितर्फ अघि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणको पहलका बीच खेप्नुपरेको पार्टीभित्रकै असहयोग र घेराबन्दीका कारण आज देशमा भिन्न राजनीतिक परिस्थिति सिर्जना भएको छ । मन्त्रिपरिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन भएको छ । ताजा निर्वाचनको लागि २०७८ बैशाख १७ र २७ गतेको मितिसमेत घोषणा भएको छ । यो भेला संविधानबमोजिम ताजा जनादेशका निम्ति जनतामा जान लिइएको यस निर्णयलाई बाध्यात्मक र सही ठहर गर्दै स्वागत गर्दछ ।

यसबारे सम्मानित सर्वोच्च अदालतमा परेका रिटहरुमाथि सुनुवाईको क्रम जारी छ । यस प्रक्रियालाई सहयोग गर्दै संविधानको सर्वोच्चता र विधिको शासनको परिपालना तथा नेपाली जनताको सात दशक लामो संघर्षको नासोका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै दिगो रुपमा संस्थागत गर्ने गरी एकताबद्ध हुन सबैमा अनुरोध गर्दछ । निर्वाचनको घोषणाविरुद्ध अनुचित आशंका र संशय पैदा गर्ने ढंगका गतिविधि गरेर जनतामा द्विविधा र निराशा सिर्जना नगर्न पनि ध्यानाकर्षण गर्दछ । प्रेस सङ्गठन नेपाल यस कदमलाई तत्कालीन घटनाक्रमहरुको विकासकै स्वभाविक परिघटनाका रुपमा लिँदै सम्मानित सर्वोच्च अदालतबाट हुने फैसलाको आधारमा मुलुकको स्थिरता र समृद्धिलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नु नै अपरिहार्य आवश्यकता रहेको ठान्दछ । यस क्रममा व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठ्दै नेपाली जनताको अपेक्षा र चाहना परिपूर्ति गर्ने दिशामा समझदारीका साथ मिलेर अघि बढ्न सबै राजनीतिक दल र तिनका नेतृत्वहरुलाई आव्हान गर्दछ ।

२। गत निर्वाचनमा वाम गठबन्धन र साझा चुनावी घोषणापत्रका आधारमा जनताले गरेको विश्वास र पार्टी एकताको अवसरको सदुपयोग गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बमोजिम राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, विकास र सुशासनका क्षेत्रमा तीव्रताका साथ काम हुनुपर्नेमा नेकपाको नेतृत्व तहमा उत्पन्न अन्तरविरोध र कलहले जनस्तरमा निराशा र चिन्ता उत्पन्न गराएको छ । यो भेला जनताका ती चाहनालाई सम्मान गर्दै आपसी गाली गलौज, अभद्र विरोध र कटुता प्रदर्शन नगरी एकता र प्रगतिशील रुपान्तरणका पक्षमा दृढताका साथ अघि बढ्न सम्बन्धित सबैमा अपिल गर्दछ ।

३। नयाँ राजनीतिक परिस्थितिको पक्ष–विपक्षमा भएमा प्रदर्शन र गतिविधिका कारण संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै बाधा व्यवधान नपुगोस् भन्नेतर्फ सचेत रहँदै यो भेला विषय र मुद्धा मिल्ने सङ्गठनसँग आपसी छलफलका आधारमा उपयुक्त कार्यक्रम तर्जुमा गरी अघि बढ्ने प्रण गर्दछ ।

४। यो भेला श्रमजीवी पत्रकारहरुको तोकिएको पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा अझै पनि सबै सञ्चारमाध्यममा कार्यान्वयन नभएको सन्दर्भमा सोको सही कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दछ । यो सङ्गठन कार्यान्वयनको अनुगमनका लागि सहयोगी बन्दै आवश्यकताअनुसार दबाबमूलक कार्यक्रम सञ्चालन गर्न पूर्ववत् प्रतिबद्ध रहनेछ ।

५। सम्माननीय राष्ट्रपतिलगायत संवैधानिक र विभिन्न ओहोदामा रहेका तथा आम महिलामाथि यौनिकताका आधारमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट भइरहेको अपमानजनक र चारित्रिक गाली गलौज बन्द गर्न यो भेला आव्हान गर्दछ ।

६। नयाँ परिस्थितिमा प्रेस सङ्गठन नेपालको साङ्गठनिक कामलाई केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट क्षेत्रमा एकताबद्ध भई सबै तहमा समावेशीताका आधारमा पुनःगठन र पुनःव्यवस्थापनसहित व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी जागरणको सन्देश प्रवाह गर्ने सङ्कल्प गर्दछ ।

७। यो भेला लोककल्याणकारी विज्ञापन समयमै वितरणका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछ । साथै, सञ्चार क्षेत्रको हितमा सहयोगी बन्न सरकारका सबै संयन्त्रहरुसमक्ष आग्रह गर्दछ ।

८। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन पत्रकार आचारसंहिताको पालना गर्दै सञ्चार क्षेत्रबाट अझ प्रभावकारी सन्देश प्रवाह गर्न यो भेला अपिल गर्दछ ।

९। यो भेला नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका क्रममा हालै नमूनाका रुपमा सार्वजनिक गरेको ‘नागरिक एप्स’ ले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत् सुशासन र पारदर्शितामा योगदान दिने भएकाले यसलाई प्रभावकारीरुपमा पूर्ण कार्यान्वयनतर्फ लान सरकारसमक्ष माग गर्दछ ।

१०।पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नवीकरणको आवेदन दिन जिल्लास्थित हुलाक सेवा कार्यालयबाटै गर्न सकिनेजस्ता सहजीकरणयुक्त प्रबन्ध गरेकामा यो भेला नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछ ।

११। यो भेला कोरोना महामारीका कारण प्रभावित सञ्चारकर्मी, साना तथा स्वरोजगारमूलक सञ्चार संस्था र सञ्चार गृहलाई उचित आर्थिक सहुलितपूर्ण राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न तथा महामारीको बहानामा श्रमजीवी पत्रकारलाई निश्कासन, तलव–सुविधा कटौती गर्ने, बेतलवी विदा दिने सञ्चारमाध्यमहरुमाथि अनुगमन गरी श्रमजीवी पत्रकारको हक हित संरक्षण गर्न गराउन नेपाल सरकारसँग विशेष आग्रह गर्दछ । साथै आम पत्रकारहरुको जीवन बीमा गराउँदै ६० वर्ष उमेर पुगेका, अपाङ्गता भएका र दीर्घरोगी पत्रकारको निर्वाह भत्ता व्यवस्था गर्न पनि माग गर्दछ ।

१२। यो भेला विश्वव्यापी रुपमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका नेपालीहरु तथा सञ्चारकर्मीप्रति यो भेला हार्दिक समवेदना प्रकट गर्दछ । उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभाको कामना पनि गर्दछ ।

१३। यो भेला प्रेस संगठनको स्थापना र विकासमा योगदान दिने सम्पूर्ण अग्रजहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछ । संगठनका संस्थापक, अग्रज अग्निशिखा, कृष्णसेन इच्छुकलगायत आन्दोलन तथा पेसागत कामका शिलशिलामा जीवन उत्सर्ग गर्ने सम्पूर्ण पत्रकारप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यो भेला उहाँहरुले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रण गर्दछ ।

विशेष प्रस्ताव ः

१४। प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल संगठनका काममा निस्क्रिय रहनुभएकाले यो राष्ट्रिय भेला उहाँलाई संगठनको जिम्मेवारीबाट विदा गर्दै संगठनका सहसंयोजक गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गर्दछ । संयोजक दाहालले हालसम्म दिनुभएको योगदानका लागि धन्यवाद दिइएको छ । संगठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय पनि यो भेला गर्दछ । भेलाले विधान संशोधन गरी केन्द्री कमिटीको संख्या ३५१ बनाएको छ ।

१५। प्रेस सङ्गठन नेपालको यो भेलामा आफ्नो व्यस्त समयका बावजूद प्रमुख आतिथ्यता दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै विशेष आतिथ्यता ग्रहण गर्नुभएकामा नेकपाका विभिन्न नेता तथा मन्त्रीगण एवं पत्रकारिता क्षेत्रका अग्रज र संस्थाका प्रमुख र प्रतिनिधिहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछ । अत्यन्त छोटो समयको सूचनाका बीच यो भेला सफल बनाउन देशभरबाट उत्साहसहित सहभागी सङ्गठनका सम्पूर्ण सहयोद्धाहरुप्रति यो भेला हार्दिक आभार व्यक्त गर्दछ ।
हार्दिक धन्यवाद ।