जनता टाइम्स

८ माघ २०७७, बिहीबार १८:०५

उदारतापूर्वक भारतले खोप दिएकोमा प्रधानमन्त्री ओलीद्वारा आभार व्यक्त


काठमाडौं, माघ ८

भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभयो ।

निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।