जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १३:३९

अमेरिकी राष्ट्रपति बाइडनद्वारा प्रधानमन्त्री ओलीलाई विशेष सन्देश


काठमाडौं, माघ ९

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले विशेष सन्देश पठाउनु भएको छ । राष्ट्रपतिमा शपथ लिएको भोलीपल्टै उहाको सन्देश लिएर नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले बाइडन प्रशासनले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको कुरा बताउनुभएको सन्देश दिनु भएको थियो ।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ’, बाइडेनको सन्देश बेरीले प्रधानमन्त्रीलाई सुनाउनु भएको नेपालस्थित अमेरिकी राजदूतवासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पनि यसअघि नै राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको भन्दै बाइडनलाई बधाई सन्देश समेत दिइसक्नु भएको छ ।