जनता टाइम्स

१२ माघ २०७७, सोमबार ०९:४६

तराईमा चिसो बढ्यो : स्वास्थ्यको ख्याल गर्न आग्रह


काठमाडौं, माघ १२ । तराईमा जिल्लामा चिसो धरै बढेको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।

अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ ।

बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् ।

चिसो बढेपछि महोत्तरीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् । यतिबेला उखु खेती स्याहार्ने बेला भएकाले उखु किसान भने चिसोका बाबजुत पनि खेतबारीमा जान बाध्य छन् । चिसोबाट बाँच्न उनीहरुले काम गर्दै गर्दा सुकेको उखुका पातलाई जलाएर आगो ताप्ने गरेका छन् ।

यस्तै, महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव विमलीले चिसोका कारण नागरिक प्रभावित भएका भन्दै विपद् व्यवस्थापनको बैठक बसेर राहत वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो । यस्तै, चिसो बढेपछि जिल्लाका पालिकाहरुले पनि दाउरा बाँड्न थालेका छन् ।

मौसमविद्ले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । मौसमविद्ले तराईसँगै देशभर चिसो बढ्ने पूर्वानुमान गरेका छन् । उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकालगायत केही जिल्लामा घाम लागे पनि चिसो हावा चल्ने भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । तर, चिसो बढे पनि तत्काल पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।