जनता टाइम्स

१२ माघ २०७७, सोमबार १०:२६

प्रधानमन्त्री ओलीबाट पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा


काठमाडौं माघ १२

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गर्र्नुभएको छ । पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भन्नुभयो, ‘मन्दिरभित्र संकल्पसहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भयो ।’

पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा विताउनु भएको थियो । सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराउनु भएको थियो । सदस्यसचिव ढकालले भन्नुभयो , ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताउनुभयो । ‘विकासका कामबारे हेरिदिन एकदिन आइदिनुपर्ने भन्ने थियो, त्यहीअनुसार आज समय मिलाएर जानु भएको हो,’ थापाले भन्नुभयो । पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ ।