जनता टाइम्स

१७ माघ २०७७, शनिबार ०८:३०

प्रदेश राजधानीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल



घोराही, माघ १७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताउनु भएको छ । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताउनु भएको हो ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताउनुभयो । उहाले प्रदेश सरकारले व्यवसायिक क्षेत्रका लागि सबै जग्गामा मास्टर प्लान बनाउने समेत दावी गर्नुभयो । यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताउनुभयो ।

उहाँले देउखुरी प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताउनुभयो । साथै उहाले देउखुरीमा दोस्रो फेवातालको विकास गर्ने योजना बनाइएको समेत बताउनुभयो । उहाले पालिकाहरुलाई पूर्वाधार निर्माणकालागि धेरै खर्च नगर्न समेत अनुरोध गर्नुभयो । कार्यालयले प्रदेश स्थायी राजधानीको संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ । अहिले अस्थायी राजधानी बुटवलबाटै राजधानीको काम भइरहेको छ ।