काठमाडौ, माघ १९। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार खेलाडी तथा खेलकर्मीसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गर्न लागेको खेलकुदसँग प्रधानमन्त्री नामक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री र खेलाडीबीच अन्तरक्रिया हुन लागेको हो ।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले मंगलबार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा खेलकर्मीसँग प्रधानमन्त्रीले संवाद गर्ने जानकारी दिनुभयो । ‘प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र खेलकर्मीका कुरा सुन्नुहुनेछ, आफ्ना कुरा राख्नुहुनेछ र प्रश्नोत्तर कार्यक्रम पनि हुनेछ,’ सदस्य सचिव सिलवालले भन्नुभयो । कार्यक्रममा राखेपका तर्फबाट नेपाली खेलकुदको वर्तमान अवस्था, समस्या र समाधानबारे प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसबारे प्रधानमन्त्री ओलीले समग्र खेल क्षेत्रलाई सम्बोधन गर्ने राखेप सदस्य सचिव सिलवालले बताउनुभयो ।
‘यो कार्यक्रम गत वर्ष नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदभन्दा अगाडि नै निश्चित भएको हो । तर प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा समस्या आएपछि स्थगित गर्नुपरेको थियो,’ सिलवालले भन्नुभयो ‘उहाँले अहिले समय दिनुभयो । यस्तो कार्यक्रम नेपालमै पहिलोपल्ट आयोजना भएको हो ।’













प्रतिक्रिया दिनुहोस्