काठमाडौं, माघ २५ । हिमपातका कारण अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो छ । हिजो काठमाडौंसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।
मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ ।
सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् । आज काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उहाँकाअनुसार अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ । तर, अहिले बाक्लो हिमपात भएको ठाउँ र तराईका केही जिल्लामा भने केही दिन चिसो नै हुने उहाँले बताउनुभयो ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ २५ गते (आइतबार)
दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।
माघ २६ गते (सोमबार)
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ २७ गते (मंगलबार)
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति: सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।













प्रतिक्रिया दिनुहोस्