जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १८:५८

फोहोर मात्र होइन, विकृत्तिपनि सफा गरौं – खानेपानी मन्त्री मगर


भक्तपुर ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले फोहोर मात्र नभई समाजमा भएका विकृतिको सफाई गर्नुपर्ने बताउनु भएको छ । ४६ औं विश्व वातावरण दिवसका अवसर पारेर भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा उहाले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृति समेत सफा गर्नु पर्ने बताउनु भएको हो ।

उहाले विकृत मानसिकता जबसम्म हामीले सफा गर्न सक्दैनौ तवसम्म हामी सुखी नेपाली र संम्वृद्ध नेपाल अभियानमा साथ दिन नसकिने स्पष्ट पार्नुभयो । अहिले देशमा नदिनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत मन्त्री मगर जोड दिनुभयो ।

कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर शान्त र उज्यालो भक्तपुर बनाउने अभियान जारी रहेको उद्घोष गर्नुभयो । विगत लामो समयदेखी भक्तपुरको सफाई अभियानमा जुटिरहनु भएका सांसद बस्नतले हरियाली भक्तपुर बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले हनुमान्ते नदि र अरनिको राजमार्ग सफाई अभियानलाई निरन्तरता दिदैं आएको छौं जुन ६६ औं हप्तामा प्रवेश गरेको छ’, उहाले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्दै घरबाट बाहिर ल्याउन र प्लास्टिकजन्य सामाग्रीको सकेसम्म कम प्रयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।