जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०८:४०

कार्यविभाजनका लागि नेकपा सचिवालयमा छलफल : इन्चार्ज र सहइन्चार्ज यसरी टुंग्याइदै


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुको कार्यविभाजनको टुंगो आज लगाउने तयारी भएको छ । दुई दिन लगातार बसेको सचिवालय बैठकमा नेताहरु सहमति नजिक पुगेकाले आजको बैठकबाट टुंगोमा पुग्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान बस्ने बैठकमा हिजो बनेको समझदारी अनुसार जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी बनेको छ । स्रोतका अनुसार केन्द्रीय सचिवालयमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारीविहीन नेताहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने समझदारी बनेको बताइएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन प्रस्ताव मापदण्डविपरीत आएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आलोचना गरेपछि उहालाई पनि मनाएर एकतालाई टुंगोमा लैजाने तयारी भईरहेको छ । नेता नेपाललाई पनि मनाउनका लागि बुधबारको सचिवालय बैठकमा मन्त्री र सांसदहरूलाई दोस्रो प्राथमिकतामा राखेर जिम्मेवारी तोक्ने ‘मध्यमार्गी’ समझदारी भएको हो ।

‘नीतिगत विषयमा छलफल गरेका छौँ, दोहोरो जिम्मेवारी हुने गरी नगरौँ, सबैतिर निरपेक्ष रूपमा नहेरौँ, कुनै तहमा लागू भएको छैन, तलका कमिटीमा दोहोरो जिम्मेवारीको कुरा नहेरौँ भनेर नेताहरूका थुप्रै सुझाब आएका छन्,’ वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि भन्नुभयो, ‘थप छलफलका लागि समय नपुगेका कारण बिहीबारको छलफलबाट टुंग्याउने गरी बैठक स्थगित भएको हो ।’ बुधबार प्रस्तावित इन्चार्ज र सहइन्चार्जको सूची पाएपछि बैठकमा सबै नेताले आ–आफ्ना सुझाब राख्नु भएको थियो । छलफल सकारात्मक भएकाले बिहीबारको बैठकबाटै प्रस्तावमाथि निर्णय हुने महासचिव विष्णु पौडेलले बताउनु भयो ।

जिम्मेवारी कम हुने गरी निर्णय गर्ने मोटामोटी समझदारी भए पनि कुन जिल्लामा कसलाई कसरी जिम्मेवारी दिने ठोस सहमति भने बुधबारको बैठकमा भएको छैन । जसका कारण विहिवारको बैठकपनि लम्बिन सक्ने आशंका नेताहरुले नै गरेका छन् ।