जनता टाइम्स

३ फाल्गुन २०७७, सोमबार १७:४४

प्रधानमन्त्री ओलीकै पक्षमा जनमत देखिएको प्रचण्डको स्वीकारोक्ति


चितवन, फागुन ३ । नेकपाबाट अलग भई छुट्टै समुहको अध्यक्ष बन्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा जनमत स्पष्ट देखिएको स्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कू गर्न नसकेपछि सडकमा पुगेर मांसहारी आन्दोलनको धम्की दिइरहनुभएका प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री ओलीकै पक्षमा ब्यापक जनलहर देखिएको तथ्यलाई स्वीकार गर्नुभएको हो । आफ्नो गृहजिल्ला चितवनमा आज पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको स्वीकार गर्नुभयो ।

प्रचण्डले ओलीको पक्षमा जनता देखिएको स्वीकार गरेपनि सत्ताको प्रभावका परेको भन्दै जनताकै अपमान गर्नुभयो । ‘उहाँ (प्रधानमन्त्री ओली) ले पञ्चर्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौँ भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजाले जे गर्थे त्यही गर्नु भएको छ, त्यसको केही अर्थ र महत्व छैन’, प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको पक्षमा उत्रिएको जनमतको अपमान गर्दै प्रचण्डले भन्नुभयो ।

ओली नेतृत्वको नेकपाले यही माघ १ गते बुटवलमा विशाल जनसागर उतारेको थियो । प्रचण्ड समुहले देशभरबाट जम्मा गरेको भन्दा लुम्बिनी प्रदेश स्तरीय जनसभामै तेब्बर मानिस उपस्थित भएपछि प्रचण्डले ओलीको पक्षमा जनमत देखिएको स्वीकार गरेपनि सत्ताको प्रभाव पारेको भन्दै आरोप लगाउनु भएको हो । प्रचण्डले आफूहरु संविधान र लोकतन्त्रमाथिको प्रहारविरुद्ध आन्दोलनमा रहेको भन्दै जनतालाई भ्रममा पार्न पनि चुक्नुभएन ।

एकपटक जितेपछि बाँचुञ्जेल पदमा रहिरहने मान्यता बोनुभएका प्रचण्डले मध्यावधि निर्वाचनलाई प्रतिगमन भन्दै सिधासिधा जनतालाई ढाँटिरहनु भएको छ । अध्यक्ष ओलीलाई महाधिवेशनअगावै बिधानबिपरित कू गर्ने र प्रधानमन्त्रीबाट समेत हटाएर सत्ताकब्जा गर्ने प्रचण्डको योजनालाई प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर असफल पार्नुभएको थियो । संसद बिघटनलगत्तै प्रचण्डले ओलीसँग नवौं महाधिवेशनमा पराजित हुनुभएका बरिष्ठ नेता माधवकुमार नेपाललाई साथ लिएर छुट्टै पार्टी बनाउनु भएको छ ।