२३ जेष्ठ २०७६, बिहीबार ००:००

पर्सामा देखियो अर्थमन्त्रीको काम : दुई दिनमा पौन २ अर्ब राजस्व संकलन


पर्सा ।

सङ्घीय सरकारले बजेट सार्वजनिक गर्नुअघि आयातकर्ताले व्यापारिक सामग्री आयातमा वृद्धि गरेपछि वीरगन्जस्थित दुवै भन्सार कार्यालयबाट राजस्व अशुली चार गुना वृद्धि भएको छ । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आइतबार र सोमबार दुई दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

लामो समयदेखि लक्ष्य अनुरुप राजस्व संकलनमा कमी आएका बेला यी भन्सार कार्यालयले राजस्व अशुली वृद्धि भएपछि उत्साहित भएको जनाएका छन् । वीरगन्ज भन्सार कार्यालयले सोमबार ७३ र आइतबार ७० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सामान्य दिनमा यो भन्सारले औसत १२ देखि २५ करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको थियो । कार्यालयका सूचना अधिकृत मनीष महतोले २ दिनमा सवारी साधन, मदिरा, चुरोट, खैनी आदिको आयात बढी भएको जानकारी दिनुभयो । सामान्यतया बजेटमा सरकारले यी वस्तुको अन्तशुल्क वृद्धि गर्ने प्रवृत्ति रहेकाले बजेट भाषणअघि आयातकर्ताले हतारमा यी वस्तु भन्सार जाँचपास गराउने चलनेछ ।

मंगलबार पनि ७० देखि ८० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भएको अनुमान गरिएको महतोले बताउनु भयो । सिरसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आइतबार २१ करोड र सोमबार १४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सामान्य अवस्थामा यो भन्सारले दैनिक ७ देखि ८ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत विकास साहले २ दिनमा सर्वाधिक बढी मदिरा भित्रिएको जानकारी दिनुभयो ।