जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार १६:३८

सरकारले किनेको मध्ये १० लाख डोज खोप काठमाडौंमा, २३ गतेबाट लगाइने


काठमाडौं, फागुन ९

सरकारले आफैले किनेको कोरोना भाइरसविरुद्धको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं ल्याइएको छ । भारतको सिरम इन्सिच्युटसँग किनेको २० लाख मध्ये १० लाख डोज खोप नेपाल आइपुगेको हो ।

एअर इण्डियाको विमानमार्फत दिउँसो पौने २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘कोभिशिल्ड’ डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ ।

काठमाण्डौ आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेरमाथी समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ ।