जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार १९:२२

सभामुख नै नियमावलीबिरुद्ध उभिएपछि..


बिराटनगर, फागुन ९ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थापित संसदीय अभ्याश र प्रदेशसभा सञ्चालन नियमावलीबिरुद्ध आइतबार बोलाइएको प्रदेशसभा बैठक सञ्चालन गर्नुभएको छ । पार्टी नै कानूनी रुपमा बिभाजन नभएको र प्रचण्ड–माधव समुहतिर लागेका सांसदले संसदीय दल पनि बिभाजन नगरेको अवस्थामा सभामुख भण्डारीले आफैले बनाएको नियमावलीबिपरित बैठक सञ्चालन गर्नुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले आज बिहान सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो । तर सभामुख भण्डारीले बैठक सञ्चालन गरी मुख्यमन्त्रीबिरुद्धको अबिश्वासको प्रस्ताव टेवल गर्न लगाउनु भएको छ । छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने आधारसमेत राख्नुभएको थियो । सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने भन्दै अघि बढाएपछि सत्तारुढ दलले नै बहिष्कार गरेको छ ।

मुख्यमन्त्री राईबिरुद्ध गत माघ २५ गते अविश्वास्को पस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सरकार पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो । अविश्वासको प्रस्ताव दर्ताअघि प्रदेश सरकारले माघ ७ गते प्रदेशसभाको बैठक बोलाएको थियो । ७ माघदेखि ९ फागुनसम्मको अवधीमा तेस्रो पटक बैठक बसेको हो । आजको बैठकमा प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईबिरुद्धको अविश्वास प्रस्ताव पेश गर्नुभएको छ ।

अविश्वास प्रस्ताव दर्ताकर्ताको तर्फबाट आङ्बोले अविश्वासको प्रस्ताव संसदमा पढेर सुनाउनु भएको थियो । सभामुखले जवर्जस्ती गरेपछि मुख्यमन्त्री सहित सत्तारुढ दलले नै बैठक बहिष्कार गरेको छ । बहिष्कारबीच प्रस्ताव अघि बढाउनु भएका सभामुखले सो प्रस्ताव पेस गरेपछि फागुन २० गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

मुख्यमन्त्री राईबिरुद्ध गत पुस १२ गते प्रदेशसभामा प्रचण्ड–माधव समूहका ३७ सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । जसमध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिइसकेका छन ।