जनता टाइम्स

१३ फाल्गुन २०७७, बिहिबार १२:४४

जसपाको एक प्रश्नमा क्लिन बोल्ड भए प्रचण्ड–नेपाल


काठमाडौं, फागुन १३

प्रतिनिधिसभा पुनःस्थापना पछि सरकार बनाउने कसरतमा जुटेका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल विभिन्न पार्टीसँग छलफल गरिरहेका छन् । कांग्रेस पार्टी सभापति शेबहादुर देउवाको निवास पुगेका दुवै नेताले आज जनता समाजवादी पार्टीसँग छलफल गरेको छ ।

सो समुहको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलको शुरुमै जसपाका नेताहरुले प्रचण्ड–माधव समूहको आधिकारिकता खोजेको थियो । छलफलमा वरिष्ठ नेता राजेन्द्र महतोले तपाईंहरूको कुन पार्टीको हो ? भनेर प्रश्न गर्नुभएको थियो । जसपाको पहिलो प्रश्नमै क्लिन बोल्ड भएका प्रचण्ड–नेपालले अन्त्यमा आफुहरु नै आधिकारिक भएको बताउनु भएको थियो । त्यसको कानुनी आधारका विषयमा भने उहाहरुले खुलाउन नसक्नु भएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र राजेन्द्र श्रेष्ठ पुग्नु भएको थियो । बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न र सरकार निर्माणमा सहयोग गर्न प्रस्ताव गर्नुभएको थियो ।

नेकपा राजनीतिक रूपमा विभाजित भएपनि कानूनी रूपमा नछुट्टिएको, तर सत्ता समीकरणका लागि छलफल तीव्र बनाएका कारण जसपाले आधिकारिक पार्टीको प्रश्न राखेको जनाएको छ । सहकार्यको लागि आधिकारीक पार्टी चाहिएको नेता महतोले बताउनु भयो ।

बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेतारकार्यकर्ताको रिहाइ लगायत विषयमा पार्टीको तर्फबाट भनाई राखिएको नेता महतोले जानकारी दिनुभयो ।