जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार ०९:२२

मौषम विभागले किन सकेन् पूर्वानुमान गर्न


काठमाडौं ।

बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु हुनुका साथै ठूलो संख्यामा घाइते भएका छन् । भौतिक क्षति पनि उत्तिकै ठूलो मात्रामा भएको छ । केही समयअघि बारामा आएको टोर्नाडोले दुई दर्जनबढिको ज्यान गएको थियो । त्यस्तै त्रासमा कैलालीका मानिस देखिएका थिए ।

तर, यसपटक पनि मौषम विभागले सो हावाहुरीको पूर्वानुमान गर्न सकेन । हुन त केही ठाउमा हावाहुरी आउने पूर्वानुमान गरेपनि ठाउ लक्षित गरेर भन्न सकेन । आवश्यक उपकरण र प्रविधिको अभावका कारण बिहीबार बेलुकी आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभाव र हावाहुरीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण पूर्वानुमान महाशाखाले समयमा सचेत गराउन नसकेको मौसमविद्हरु बताउँछन् ।

यसैविच, हावाहुरीका कारण टीकापुर नगरपालिका २ मा पर्खाल भत्केर लाहनु डगौराको मृृत्यु भएको छ । यस्तै, गोदावरी नगरपालिका ८ का वीरबहादुर चौधरीको पनि मृत्यु भएको छ । पूर्वबाट आइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढीको ढुंगे बजारमा रुख ढलेर गुडिरहेको भ्यानमाथि लाग्दा गाडीमा क्षति पुगेको छ । सो घटनामा घाइते बाहेक अन्य क्षति भने नभएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर घाईते ४ जनालाई उपचारका लागि रिफर गरिएको छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ । धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया सिविरमा रहेका सबै घरको छाना उडाएको छ । विद्युतका पोलहरु ढल्दा सेवा पूर्णरुपमा अवरुद्ध छ । रुखहरु जताततै भाँचिएका छन् । कतिपय स्थानमा सडक अवरुद्ध छ । करीब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो । हुरीले छाना उडाएको र मुसलधारे वर्षा पछि पीडितहरुको झन बिजोग भएको थियो ।