जनता टाइम्स

१२ चैत्र २०७७, बिहीबार १६:२८

लकडाउन बारे सरकारी धारणा : योजना छैन, स्वास्थ्य मापदण्डमा भने कडाई


काठमाडौं, चैत्र १२

कोरोना संक्रमण बढ्न सक्ने आकंलन गरिरहेका बेला लकडाउनका विषयमा अहिले अन्यौल देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए र संक्रमण तिव्र रुपमा फैलिए लकडाउनसम्म पुग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।

सोही विषयलाई लिएर नागरिकबीच लकडाउन हुने अफवाह फैलिरहेको छ । यसैक्रममा सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने प्रष्ट्याउनु भएको हो । उहाले स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले कडाइ गर्ने स्पष्ट पार्नुभयो ।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने तर लकडाउन र सीमानाका बन्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्नुपर्ने आवश्यकता छ’, उहाले भन्नुभयो, त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’