जनता टाइम्स

२३ चैत्र २०७७, सोमबार २०:३५

काठमाडौं आउँदै हुनुहुन्छ ? एन्टिजेन परीक्षण गरेर आउनुहोस्


काठमाडौं, चैत्र २३

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताउनु भयो ।

यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमण दर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं । हरेक नगरपालिकाले एन्टिजेन टेस्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेस्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो ।

यस्तै सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरकेो छ ।