जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १९:४२

समृद्धिको सपना देख्नेहरुलाई सराप्ने पनि छन् : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, चैत्र २४

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपालको सपना देख्नेहरुलाई सराप्नेहरु धेरै रहेको बताउनु भएको छ । उहाले विकास निर्माण र समृद्ध नेपालको ‘सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको’ भन्दै व्यंग्य गर्नुभएको हो ।

काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाले सपना नदेख्नु पनि राम्रो नभएको बताउदै तर सपनाको मृत्यु हुनु सबभन्दा डरलाग्दो कुरा भएको बताउनु भयो ।

‘जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरूको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरूरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरू पनि छन्’, उहाले भन्नुभयो, ‘तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरू प्रशस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू चुलिएका छन् । तर निराश हुनुहुँदैन । त्यसविरूद्धमा उभिनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक दलका अगुवाहरूमा विकसित हुँदै गएको व्यक्ति केन्द्रित स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताउनु भयो । उहाले राजनीतिक वृतमा अगुवाहरूमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गर्नुभयो । ‘राजनीतिक अगुवाहरूले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौं, मैले पाइनँ, पाउनुपर्ने । नेतृत्व पंक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ’, उहाको भनाई थियो ।