जनता टाइम्स

२८ चैत्र २०७७, शनिबार १२:१४

‘विभुषण चाँही २०७७ बैशाखको लिने, नक्सा चाँही जेठको खोज्ने’


काठमाडौं, चैत्र २८

राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभूषणमा नेपालको नयाँ नक्सा नसमेटिएको विषय अहिले सामाजिक सञ्जाल र नाम चलेका सञ्चारमाध्यमले पनि भाइरल बनाईरहेका छन् । त्यसपछि हामीले पनि सो विभुषणमा रहेको नेपालको नक्सा हेरियो । साच्चै नै त्यहा नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा थिएन ।

अनि शुरुमा हामीलाई पनि त्यही सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले जस्तै प्रचार र सनसनी समाचार लेख्न मन लाग्यो । तर, यसो सोच्यौं, पक्कै पनि यति ठुलो गल्ती त सरकारले जानीजानी गर्न सक्दैन । के भएको रहेछ ? एकपटक बुझौं न त ? भनेर गृहमन्त्रालयका अधिकारीसँग कुरा गर्यो । गृह मन्त्रालयका अधिकारी पनि यसविषयमा उत्तर दिदाँ दिदा हैरान भएका रहेछन् । शुरुमै उहाले भन्नुभयो, ‘विभुषण चाँही २०७७ बैशाखको थाप्ने अनि जेठमा पास भएर संविधानमा राखेको नयाँ नक्सा, खोज्ने ।’

हामीले फेरी उहाँलाई सोध्यौं, बैशाख कै भएपनि नयाँ नक्सा समावेश गर्न त सकिन्थ्यो होला नि ? ति अधिकारीको उत्तर व्याख्यासहितको अलिक लामै आयो । ‘नेपाली समाजमा छोरीलाई विवाह गरेर दिने चलन छ । कतिपय छोरीहरुको विवाह २० देखी २२ वर्षपछाडी हुने गरेको छ । विवाह गरेर गएपछि प्राय केटा पक्षको थर लेख्ने चलन छ । तर, छोरीलाई पढाउने क्रममै १६ देखि १८ वर्षमा नागरिकता बनाउने गरिन्छ । त्यो नागरिकतामा माइतिपक्षकै थर लेखिएको हुन्छ । अब विवाह गरेपछि पहिला नै केटा पक्षको थर किन नलेखेको भनेर हुन्छ र ?’, उहाको व्याख्यासहितको सांकेतिक उत्तर थियो यो ।

शुक्रबार बाँडिएको विभुषण २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत भएकाले पाएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफारिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्रिपरिषद्बाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

त्यही वर्षको संविधान दिवस (असोज ३) मा राष्ट्रपति कार्यालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको थियो । गृह मन्त्रालयले कोरोना महामारीका कारण गत वर्ष प्रदान गर्न नपाएका विभूषण भएको जनाएको छ । सो विभुषण त्यही बेला निर्माण गरेका हुन् । गृह प्रवक्ता चक्रबहादुर बुढाले शुक्रबार राष्ट्रपतिबाट वितरण गरिएका विभूषण नयाँ नक्सा जारी हुनुपूर्व बनाइएकाले लिम्पियाधुरासम्मको भूभाग नसमेटिएको बताउनु भयो । ‘यी विभूषण २०७७ वैशाखअघि नै बनाइएका हुन्,’ उहाले भन्नुभयो ।

पुरानै नक्सा भएका विभूषण सरकारले रद्द गर्न सक्तैनथ्यो भन्ने प्रश्नमा उहाले भन्नुभयो, ‘नयाँ नक्सा जारीपछि बनेका विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा हुनेछ । गत वर्ष नक्सा जारी भएकै थिएन । पुरानै डिजाइनमा बनेका र गत वर्ष सिफारिस गरिएकालाई नै प्रदान गरिएकाले अरू बोलिरहनुपर्छ जस्तो लाग्दैन ।’ अब बैशाख १ गते बाडिने विभूषणमा भने नेपालको नयाँ नक्सा समावेश भएको हुनेछ । संसदले गत जेठमा नयाँ नक्सा सर्वसम्मतिले पारित गरेर संविधान संशोधन गरेको थियो ।