जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १८:५१

झनै बढ्यो कोरोनाको त्रास : आजै १३ को मृत्यु, ५५९ मा कोरोना पुष्टि


काठमाडौं, चैत ३०

पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जनामा कोरोना पुष्टि भएको छ भने कोभिड­ १९ को कारण १३ को मृत्यु भएको छ । उक्त अवधिमा ४ हजार ३७८ मा पिसीआर परीक्षण र ७२७ मा एन्टिजेन परीक्षण भएको थियो । पिसीआर विधिबाट परीक्षण गरिएका ४९६ र एन्टिजेन परीक्षण गरिएका ६३ गरी ५५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

त्यसमध्ये उपत्यकामा मात्रै १५४ मा सङ्क्रमण देखिएको छ । आज १३८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत छ । मुलुकभरि आइसोलेशनमा रहेका ९२ मध्ये १५ भेन्टिलेटरमा छन् । आजसम्म २३ लाख १७ हजार २८४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

जसमा २ लाख ८० हजार ५२४ मा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ७४ हजार १६५ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३०७ छ साथै ३०५३ को मृत्यु भएको छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न सरकारले पटक पटक अनुरोध गर्दै आएको छ ।