Untitled Document

दलालले भारतको विमानस्थलमा यसरी सेटिङ गरेर लैजान्छन् नेपाली महिलालाई इराक

काठमाडौं, फागुन २९

चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ ।

इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रूपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो ।

उनले प्रत्येक साताजस्तो घरमा फोन गरेर रुँदै बिलौना गर्ने गरेकी छन् । भनेजस्तो काम छैन र पैसा पनि भनेजति दिइएको छैन । उल्टै दैनिक १९ घण्टासम्म घरायसी काममा लगाइएको छ, दिनहुँ गालीगलौज सुन्नुपरेको छ । इन्दुका एक्ला छोरा विशाल प्रहरीसँग भन्छन्, ‘पैसा बरु जेसुकै होस्, आमाको सकुशल उद्धार होस् ।’

सीआईबीका प्रवक्ता उमा चतुर्वेदीका अनुसार त्यस्ता गन्तव्यमा समस्या परिहाल्यो भने महिलाहरू गुनासो गर्नसम्म सक्दैनन् । कमजोर आर्थिक हैसियतका र निरक्षर महिला घरेलु कामदारका रूपमा जाने भएकाले उनीहरूमाथि श्रमशोषणको सम्भावना बढी छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको गन्तव्य देश पुगेकी इन्दु अब कसरी फर्केलिन् ? खाडी मुलुकमा दस वर्ष काम गरी फर्केका उनका श्रीमान् जगन्नाथलाई पनि थाहा छैन । उनलेआफ्नी श्रीमती काम गरिरहेको घरधनीसँग फोनमा कुरा गरे । ‘घरधनीले ५ हजार डलर एजेन्टलाई तिरेर ल्याएको हुँ भन्यो,’ उनी भन्छन् ।

इन्दुले उनलाई भनेअनुसार टर्की लैजाने निहुँमा तीन महिलालाई एजेन्टले इराक पुर्या‍ए ।आफ्नी श्रीमतीलाई फर्काउने उपायस्वरूप उनले इराक बस्ने ओमराज नामका एजेन्टलाई फोन गरे । इराकबाट कुनै एक महिलाले यस संवाददातालाई दिएको जानकारीअनुसार ओमराजले इन्दु र लक्ष्मीसहित दस जनालाई एकैपल्ट नयाँदिल्ली हुँदै इराक पुर्‍याएका हुन् । उनले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाएका थिए । ‘सयौंको संख्यामा गैरकानुनी बाटो नेपाली महिला अँइरहेका छन्, आधाभन्दा धेरैको बिजोग छ,’ उनले नाम नखुलाउने सर्तमा भनिन् ।

फर्केका कामदारमध्ये भेटिएका जतिले बताएअनुसार इराकमा सबैभन्दा धेरै घरेलु कामदार महिलाको माग छ । इराकमै कार्यरत नेपाली र भारतीय एजेन्टहरूले गैरकानुनी बाटो हुदै नेपाली महिलालाई इराक पु¥याउने गर्छन् । प्रहरीले जम्मा गरेका गुनासोअनुसार इराकको कुर्दिस्तान, बासरा र बगदाद क्षेत्रमा सबैभन्दा धेरै नेपाली पुगेको देखिन्छ ।

प्रायः घरधनीहरू नै चारदेखि पाँच हजार डलर एजेन्टलाई अग्रिम बुझाउन तयार हुन्छन् । एजेन्टले नेपालबाट महिला कामदार लैजाने खर्च आफैँ बेहोर्छन् र कामदारका तलबबाट काटिने गरी मिलान गर्छन् । सम्पर्कमा आएमध्येका महिला प्रायः खर्च नलाग्ने भएकैले इराकलाई गन्तव्य रोज्न तयार भएको देखिए । इराक पुगेकामध्ये धेरैजसो दलित, एकल महिला र पतिको प्रताडनामा परेका देखिन्छन् । इराकस्थित एजेन्टले नेपालस्थित एजेन्टलाई मागपत्र थमाएपछि महिला कामदार खोज्ने काम सुरु हुन्छ ।

शुल्क नलाग्ने प्रलोभन दिइन्छ । कैयौंलाई भने कुर्दिस्तान जाने भनिन्छ । द्वन्द्वको प्रभावमै रहेको कुर्दिस्तान इराककै एउटा अंग हो भन्ने जानकारी दिइँदैन । गत महिना भारतको मणिपुरबाट उद्धार गरिएकामध्येका २४ महिलाले आफू ‘इराक नभएर कुर्दिस्तान’ जान लागेको बतँएका थिए ।

दिल्लीमा सेटिङ

यसका लागि दिल्लीमा सेटिङ मिलाउन पनि नेपाली नै प्रयोग हुने गरेको देखिएका छन् । गत माघ ७ गते पूर्वी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको एउटा उजुरीले त्यही बाटो देखायो । मानव बेचबिखनविरुद्ध कारबाही गरिपाउँ भन्ने उक्त उजुरीमा एक जनाले आफ्नी बहिनीलँई ललाइफकाई भारतको बाटो इराक पु¥याइएको र उनी उतै सिकिस्त बिरामी परेकाले उद्धार गर्न पनि अनुरोध गरेका थिए ।

उनले आफ्नी बहिनीबाट खबर पाएका थिए, कसरी उनीमाथि निरन्तर मानसिक हिंसा भइरहेको छ, कुटपिटसमेत हुने गरेको छ र दैनिक १७\१८ घण्टासम्म कसरी काममा जोतिनुपरेको छ । ब्युरोले इराक पठाउने एजेन्टको भूमिका खेलेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–१२ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने लक्ष्मी बस्नेतलाई माघ १३ गते पक्राउ गर्‍यो ।
लक्ष्मीको बयानबाट थाहा भयो, नयाँदिल्लीस्थित पहाडगन्जमा बसेर १० वर्षदेखि ट्राभल एजेन्सीको आवरणमा काम गर्ने उनका पति नवराजबस्नेतको भनाइ मानेर उनले ती महिलालाई भारत पठाइदिएकी थिइन् ।

ब्युरोले गत महिना नेपाल आएका बेला नवराजलाई उदयपुरको गाईघाटबाट पक्राउ गर्‍यो । नवराजले बयानमा आफूले पहाडगन्ज बसेर इराक जानेहरूलाई सेटिङमा दिल्ली विमानस्थलबाट उडाइदिने गरेको सकारे । उनले खुलाएअनुसार एजेन्टले दिएको रकमबाट खर्च कटाएर प्रतिव्यक्ति तस्करीमार्फत ४० देखि ६० हजार रुपैयाँसम्म बचत हुने गरेको छ ।

प्रहरीको बुझाइअनुसार इराकी घरधनीले मासिक पाँचदेखि ६ सय डलरसम्म नेपाली महिला कामदारलाई तिर्छन् । त्यसको आधाभन्दा बढी हिस्सा एजेन्टले खान्छन् ।

यसक्रममा तीनदेखि चार तहसम्म एजेन्टहरू खटिन्छन् । इराक, काठमाडौं र दिल्लीस्थित एजेन्टहरूले भिन्नाभिन्नै भूमिका निभाउँछन् । महिला कामदारको माग ल्याउने, महिला खोज्ने र भारतको बाटो हुँदै सेटिङमा इराक उडाउने तीन चरण बढी चलेको छ ।

नवराजले बयान दिएअनुसार दिल्लीबाट मात्रै मासिक सयौंको संख्यामा सेटिङमा इराक उडाउने गरिएको छ । पछिल्लो दस महिनामा मानव बेचबिखनको चंगुलमा परेका तीन सयभन्दा धेरै नेपालीलाई नयाँदिल्ली, बेंग्लौर, बनारस र मणिपुरबाट उद्धार गरिएको प्रहरीको रेकर्ड छ । तिनमा अधिकांश महिला छन् र अधिकांशको गन्तव्य इराक हो ।

नवराजको बयानअनुसार मासिक सातदेखि दस महिलालाई उनी एक्लैले ‘सेटिङ’ मिलाउने गरेका छन् । ‘दिल्लीमा त मजस्ता दर्जनौं एजेन्ट छन् । सेटिङ मिलेका बेला त महिनाकै चार÷पाँच सय नेपाली महिला इराकका लागि उडछन् ।’

चालकदेखि एजेन्टसम्म

नवराज काठमाडौंको कपनस्थित भंगालमा घर बनाउँदै थिए । तीन छोरामध्ये दुई छोरा इराकको कुर्दिस्तानमा थिए । एक छोरा पनि हालै मात्रै इराकबाटै फर्केका थिए ।

२०६६ अघि उदयपुरको गाईघाट–काठमाडौं बस चलाउने नवराजको यात्रा घुम्तीले जेलिएको छ । उनको भेट एकजना एजेन्टसँग भयो । तिनै एजेन्टले इराक पठाउने भन्दै उनलाई दिल्ली पु¥याएर एक लाख सत्तरी हजार रुपैयाँ खाइदिए । ‘पैसा पनि गुमेपछि र काम पनि नभएपछि’ उनी दिल्लीमै भौतारिए ।

पहाडगन्जको नेपाली चहलपहल हुने एउटा होटलमा सामान्य काम गर्न थाले । ‘त्यही बेला विदेश पठाउने एजेन्टसँग चिनाजानी भयो र उनीहरूकै सहयोगीको काम गर्न थालेँ,’ उनले प्रहरीसँग भनेका छन् ।

एजेन्टको सहयोगीको काम गर्दागर्दै उनी आफैँ एजेन्ट बने । ‘इराकबाट आएको मागअनुसार नेपालबाट एजेन्टले महिला जम्मा पारेर दिल्ली ल्याइदिन्थे । मैले दिल्ली एयरपोर्टमा सेटिङ मिलाएर उडाइदिएको मात्रै हो,’ उनले भनेका छन् ।

उद्धारमा कठिनाइ

इराकमा नेपाल सरकारको कूटनीतिक उपस्थिति छैन । कुवेतस्थित दूतावासले इराक हेर्ने गर्छ ।

परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाका महानिर्देशक गेहेन्द्र राजभण्डारीका अनुसार इराकमा अलपत्र परेका वा समस्यामा पर्नेका परिवारका सदस्यहरूको उद्धार गरिपाऊँ भन्ने उजुरी फाट्टफुट्ट पर्छ । इराकको कुन ठाउँमा को कसरी छन् भन्ने सूचना उजुरी गर्नेसँग प्रायः हुँदैन । ‘न कसैसँग आवश्यक कागजात देखिन्छ न कुनै पुष्ट सूचना,’ उनले भने, ‘यस्तो अवस्थामा कुवेतस्थित दूतावासले उद्धारमा आवश्यक सक्रियता जनाउन गाह्रो हुन्छ ।’ इराकका कतिपय क्षेत्र अहिले पनि द्वन्द्वग्रस्त छन् ।

जाहेरी कम

भारतबाट सयौंको संख्यामा नेपाली महिलाको उद्धार भए पनि प्रहरीकहाँ मानव बेचबिखन मुद्दामा जाहेरी दर्खँस्त दिनेको संख्या भने कम छ । मणिपुरबाट उद्धार गरिएका एक सय ७१ जनामध्ये एकैजनाले पनि जाहेरी दर्खास्त दिएनन् । ब्युरोका प्रवक्ता चतुर्वेदीले भने, ‘हामीले जाहेरी दर्खास्त दिन गरेको अनुरोध पनि काम लागेन । यस्तो अवस्थामा थप अनुसन्धान बढाउन र तस्करीमा संलग्नहरूको पहिचान गर्न र पक्राउ गर्न समस्या हुन्छ ।’

सन् २००८ देखि नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएयता हजारौं नेपाली महिला उक्त द्वन्द्वग्रस्त देश पुगेका छन् । १६ माघमा मात्रै भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्रबाट १४७ महिलासहित एक सय ७९ जनालाई उद्धार गरेर नेपाल फर्काएको थियो । तीमध्ये ५७ जनाको गन्तव्य इराक थियो भने ४१ जना त महिला नै थिए ।

त्यसअघि गत भदौ १ मा उत्तरप्रदेशको बनारसमा बन्धक बनँइएका एक सय ४४ महिलालाई भारतीय प्रहरीले उद्धार गरेर नेपाल फर्काइदिएको थियो । उक्त घटनाबारे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार इराकबाट मागपत्र आउन ढिला भएकैले ती महिलालाई बनारसमा बन्धक बनाएर राखिएको देखिन्थ्यो । ब्युरोको तथ्यांक हेर्दा पछिल्लो दस महिनामा मात्रै तीन सय ५३ महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरेर नेपाल ल्याइएको छ, जसमध्ये सबैभन्दा ठूलो संख्याको गन्तव्य इराक थियो ।

अनुसन्धानरत प्रहरी अधिकारीका अनुसार इराकको टिक्रिट र कुर्दिस्तानमा धेरै नेपाली गैरकानुनी हिसाबले पुगेका देखिन्छन् । कुर्दिस्तानमा आईएस समूहविरुद्ध अमेरिकी सेनाको सहयोगप्राप्त कुर्दिस लडाकुहरू लडिरहेका छन् । ब्युरोका अनुसार बगदादस्थित अमेरिकी सेनाको शिविरमा खाना पकाउने र सरसफाइ गर्ने काममा पनि नेपाली पुगेका छन् । त्यहाँको निर्माण क्षेत्रमा पनि छ्यापछ्याप्ती नेपाली कामदार भेटिन्छन् । (कान्तिपुरबाट)

March 13, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *