जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १७:५४

टेलिकमले ल्यायो एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर


काठमाडौं, बैशाख ३०

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट फैलिएसँगै गरिएको निषेज्ञालाई लिएर नेपाल टेलिकमले एक महिने अफर ल्याएको छ । यस विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले टेलिकमले भोलीबाट एक महिने अफर दिन लागेको हो । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने भएको छ ।

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ । दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ ।

दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ । यसैगरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।