काठमाडौं, जेठ ५ । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक अचानक स्थगित भएको छ । बैठकमा सबै सदस्य उपस्थित हुन सम्भव नभपछि बिहीबार बेलुका ५ बजे बस्नेगरी आजको लागि तय भएको बैठक स्थगित भएको हो ।
आजको बैठकमा बागमति प्रदेशका लागि भोलि हुन गइरहेको राष्ट्रियसभा निर्वाचन कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो । कार्यदलमा संस्थापन र असन्तुष्ट पक्षका पाँच–पाँच जना नेता रहनुभएको छ । जसमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहनुभएका नेता विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुन्छ ।
यस्तै बरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । मंगलवार बसेको कार्यदलको बैठक आज साँझ ७ बजे सिंहदरवारमा बस्ने गरी स्थगित भएको थियो । आन्तरिक तयारीका लागि भन्दै आजको बैठक स्थगित गरिएको हो । हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक–आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो । तर माधव नेपालको सचिवालयले बिज्ञप्ती जारी गरी कार्यदलको निर्णय अबज्ञा गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो । स्रोतका अनुसार अध्यक्ष ओली र बरिष्ठ नेता नेपालसँगको आन्तरिक छलफल नसकिएकोले बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्