जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार ०८:४४

३ दिनमा ३ दाजुभाइको निधन : घटना सुनेर दिदीको पनि मृत्यु, सिंगै गाऊँ शोकमग्न


बाँके, जेठ ६ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाईको मृत्यु भएपछि सिंगै गाउँ शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदको ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता हुनहुन्थ्यो । इम्तियाजको लन्ड्री पसल रहेको छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाउनु भयो। २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ।

कोरोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँदोरहेछ, यो परिवार आश्चार्य चकित छ। ‘काका एजाजलाई मधुमेहको समस्या थियो। अरू कसैलाई दीर्घरोग थिएन। मधुमेहको रोगी भए पनि उहाँले औषधि सेवन गर्नु भएको थिएन। खानपिनबाटै मधुमेहलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा सहनाज आदिलले यर्थाथता दर्शाए। कान्छा जहिर क्रिकेट खेलाडी भएकाले हट्टाकट्टा नै थिए। अस्पतालमा भर्ना हुने दिनसम्म उनको अक्सिजन लेभल ९० थियो। एक्कासि सास फेर्न गाह्रो भएको थियो। तर, सुरुमा निधन उनकै भयो।

निधन भएका तीनवटै भाइलाई सुरुमा खोकी र ज्वरो आएको थियो। उनीहरूले त्यसको औषधि खाए तर निको भएन। शंका लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो। जटिल स्वास्थ्य समस्या नहुँदासम्म उनीहरू होम आइसोलेसनमै बसेका थिए। तीन भाइलाई कोरोना भएपछि अरू थप ४ जनाको कोरोना परीक्षण गरिएको थियो। मृतकद्वय काइला र कान्छाकी पत्नीलाई पनि कोरोना पुष्टि भयो तर उनीहरू होम आइसोलेसनमा बसेर निको भए। ती बाहेक अरु कसैलाई कोरोना संक्रमण भएन। अस्पतालमा कुर्ने छोरा भतिजाहरूमा पनि कोरोना भएन।

त्यस्तै, नेपालगन्ज–५ को बच्चुपुरुवाका २८ वर्षका अशोक मौर्य (मुराउ)ले कोरोनाबाट ६५ वर्षका पिता रामगोपाल मुराउलाई भेरी अस्पतालमा उपचारको क्रममा गुमाए। बुबाको मृत्युको १४ घण्टामै ६० वर्षीया आमा सावित्रीदेवी मुराउको पनि मृत्यु भयो।