जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १६:०४

सकियो एमाले स्थायी कमिटी बैठक, यस्तो छ निर्णय


काठमाडौं, जेठ ६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सकिएको छ । आज बसेको बैठकमा बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उप–निर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भत्सर्ना गरेको छ ।

बैठकले पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको थियो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न सकिँदैन । उहाँले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिनुभयो । बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमै रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको थियो ।