जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार १४:२९

राष्ट्रिय सभा चुनावमा थापालाई मतदान नगर्ने १४ प्रदेशसभा सदस्यलाई एमालेले सोध्यो स्पष्टीकरण


मकवानपुर, जेठ ८ । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । राष्ट्रिय सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो । हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा बसेको बैठकले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापाको साटो स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई सहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको जनाएको छ । एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल छन् ।

‘संसदीय दलको नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव आउँदादेखि राष्ट्रिय सभा निर्वाचनसम्म पार्टी निर्णयविरुद्ध काम गरेपछि हामीले स्पष्टीकरण सोधेका हौं । उहाँहरूलाई जवाफ दिनका लागि आइतबार साँझ ५ बजेसम्मको समय प्रदान गरिएको छ,’ उहाले भन्नुभयो । बैठकमा कोभिड नियन्त्रणमा प्रदेशले गरेको कामको समेत समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ एमालेका आधिकारिक उम्मेदवार थापालाई स्वतन्त्र उम्मेदवार देवकोटाले पराजित गर्नुभएको थियो । प्रदेशतर्फ थापाले ४५ मत प्राप्त गर्दा देवकोटाले ५८ मत प्राप्त गरेका थिए । एमालेको प्रदेशसभामा ५६ मत छ । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गर्नुभएको छ । स्थानीय तहतर्फ देवकोटाले २ सय ३३ मत खसेकोमा १ सय २८ मत प्राप्त गर्नुभएको थियो । थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका गर्नुभएको थियो । देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।