जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १०:१७

स्कुल जाँदा जिमखाना छिरेका महेश्वर…


काठमाडौं ।

शरीर चिटिक्क बनाउने रहर कसको हुँदैन र ! धेरैजसो मानिस कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेका हुन्छन् । त्यहीवेला थाहा हुने हो, ‘बडी बिल्डिङ’को यो रहर सजिलो भने छैन । अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या आवश्यक हुन्छ । महेश्वर महर्जन यही खेलका खेलाडी हुन् । उनले आजको दिनसम्म पुग्न जे–जति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसायोग्य छ ।

घरनजिक जिमखाना

धेरै वर्षअघि उनको शरीर मसिनो नै थियो, अरूजस्तै उनी पनि घरनजिकको जिमखाना छिरे । त्यो स्कुल जाँदाको समय थियो । अहिले उनको आप्mनै जिमखाना छ । जिमखानामा कसरतपछि बाहिर निस्कनुपर्छ, अहिले उनको शरीर देखेर लोभ लाग्छ । लोभ मात्र के र, त्यही शरीरले नेपाललाई ऐतिहासिक सफलता पनि दिलाएको छ, विश्व च्याम्पियनसिपस्तरमै । वर्ष २०७५ मा निकै चर्चा बटुलेका खेलाडीमा पर्छन्, ३५ वर्षीय महेश्वर ।

७५ केजीमा विश्व च्याम्पियन

गत वर्ष सामाजिक सञ्जालमा महेश्वरको नाम सर्वाधिक चर्चामा रह्यो । उनले ०७५ मा थाइल्यान्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपको ७५ केजी तौल समूहमा उपाधि जिते । च्याङमाईमा प्राप्त त्यो सफलतापछि धेरैलाई गहिरो कौतुहल लागेको थियो, यो महेश्वर भन्ने को हो ? यसले जितेको के हो ? धेरैले उनीबारे खोजीनीति गरे ।

पपुलर च्वाइसमा

०७५ मा नेपाली खेलकुदबारे चर्चा गर्दा उनलाई छुटाउनै मिल्दैन । यी खेलाडी एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परे । त्यसै पनि यो विधामा फुटबल र क्रिकेटको बढी वर्चस्व हुने गर्छ । शारीरिक सुगठनका खेलाडी यो विधाको मनोनयनमा पर्नु दुर्लभ हो । त्यसैले महेश्वर आफै खुसी छन् र मान्छन्, मनोनयनमा पर्नु पनि जितेजस्तै हो । उनी यत्तिकै रोकिने पक्षमा छैनन् र उत्तिकै दत्तचित्त भएर यो प्रतिष्ठित अवार्ड जित्न लागिपरेका छन् । भन्छन्, ‘यो सबैभन्दा ठूलो अवार्ड हो, नेपाली खेलकुदको ।’