जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १५:१८

यांग्री र लार्के खोलामा तत्काल काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । हाल मेलम्चीबाट न्युनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्री ओलीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिनुभयो । राजधानीबासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो । प्राविधिक आवश्यकताअनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए/नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परिक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।

त्यस अवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिनुभयो । ‘वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रै सँग चलाउन सकिन्छ’, बैठकमा मन्त्रालयका अधिकारीहरुको भनाई थियो ।