जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १९:०४

लन्डनबाट सार्वजनिक रेल चढेर फ्रान्स पुगे प्रधानमन्त्री ओली, बेलायत भ्रमण उपलब्धीपुर्ण रहेको निश्कर्ष


लन्डन, जेठ २९

प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक रेल चढेर फ्रान्स पुग्नुभएको छ । तीन दिने बेलायत भ्रमण सकेर आज अपरान्ह प्रधानमन्त्री ओली फ्रान्सको भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको पेरिस प्रस्थान गरेको मुख्य सल्लाहाकार विष्णु रिमालले जानकारी दिनुभएको छ । फ्रान्स र बेलायत जोड्ने गरी बनाइएको सुरुङमार्ग ‘इंग्लिस च्यानल’नामबाट चिनिन्छ । यसको लम्बाई ५०.४५ किलोमिटर रहेको छ । विमानबाट जाँदा धेरै समय लाग्ने र रेलबाट जाँदा छोटो समयमै पुग्ने भएकाले प्रधानमन्त्री ओलीले रेलयात्रा रोज्नुभएको हो । बेलायतको फोल्कटोन सहरदेखि उत्तरी फ्रान्सको क्यालाइ्स सहर जोड्ने यो भूमिगत रेलगर्माबाट करिब वार्षिक १ करोडले यात्रा गर्ने गर्छन ।

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहा पुग्नु भएको हो । फ्रान्स भ्रमणको क्रममा प्रधानमन्त्री ओलीको बिहीबार आफ्ना समकक्षीसँग औपचारिक वार्ता गर्ने तय भएको छ । दुई समकक्षीबीच बिहीबार बेलुका ५ बजे करिव एक घन्टासम्म भेटबार्ता हुनेछ । परराष्ट्र मन्त्रालका अनुसार आफ्ना समकक्षीसँगको वार्तापछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ नै राष्ट्रियसभामा मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतोंलाई भेटकार्ता गर्नुहुनेछ । राष्ट्रियसभाले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई फ्रान्सको राष्ट्रियसभा अन्तर्गत नेपाल—फ्रान्स मैत्री समूहले सहजीकरण गर्नेछ । प्रधानमन्त्री ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुहुनेछ । पेरिस रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका व्यापारिक समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली राजदूतहरुलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

फ्रान्सप्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक रहेको जानकारी दिनुभयो । भ्रमणको अन्तिम दिन आज आफ्नो सम्मानमा नेपाली दूतावासमा आयोजित रिसेप्सनमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

‘बेलायतका महामहिम प्रधानमन्त्रीमेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मंगलबार समकक्षी मे, प्रिन्स ह्यारी, प्रमुख प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिन लगायत नेता, व्यापारी र गोर्खा समुदालाई भेटबार्ता गर्नुभएको थियो ।