जनता टाइम्स

१० असार २०७८, बिहीबार १८:१७

बजेटबारे छलफल नगरिएको भन्दै बहुमत सदस्यको बहिस्कार : ललितपुर महानगरको विथोलियो बजेट


काठमाडौं, असार १०

बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन सकेन । आज महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेट प्रस्तुत हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमत सदस्य उपस्थित भएपछि बजेट सभामा पेश हुन सकेन र सभा स्थगित भएको छ, तीन दिनपछि फेरि नगरसभा बस्नेछ ।’आफूहरुसँग नीति तथा कार्यक्रम र बजेटबारे छलफल नगरिएको भन्दै बहुमत नगरसभा सदस्यले असन्तुष्टि जनाउँदै आएका थिए ।

उहाँका अनुसार यदि तीन दिनपछि पनि बहुमत सदस्य उपस्थित नभएमा फेरि दुई दिनपछि अर्को सभा बोलाइनेछ । सो नगरसभा बैठकमा बहुमत सदस्य उपस्थित नभए एक तिहाइ सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आह्वान गर्ने महानगरपालिकाको योजना छ । बुधबार नगरसभामा रहेका ९२ सदस्यमध्ये ६६ जनाले बैठक बहिस्कार गरेका थिए । बहिस्कार गर्नेहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित भएपनि नगरसभा र नगर कार्यपालिकामा उनीहरु अल्पमतमा छन् । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ललितपुरमा राजनीतिक किचलोले सम्भव नभएको हो ।