जनता टाइम्स

११ असार २०७८, शुक्रबार ११:१०

खीमलाल भट्टराईको ठहर : प्रचण्ड-माधव-देउवा पञ्चायत र राजतन्त्र फर्काउने दुश्कर्मतिर लागे


काठमाडौं, असार ११ । एमाले नेता खिमलाल भट्टराईले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, प्रचण्ड तथा अन्य विपक्षी दलका नेताहरूले मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने दुष्कर्म गरिरहेको बताउनु भएको छ । राष्टिय सभामा एमालेका मुख्य सचेतकसमेत रहनुभएका नेता भट्टराईले लोकतन्त्र र अग्रगमनको जामाभित्र बिपक्षी गठबन्धनका नेताहरु पञ्चायत र राजतन्त्र फर्काउने दुश्कर्मतिर लागेका ठोकुवा गर्नुभएको हो ।

सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै भट्टराईले विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको बताउनु भएको छ । ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं,’ भट्टराईको भनाई छ ।

उहाँले बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने प्रष्ट बटमलाइनसमेत राख्नुभएको छ । ‘संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ,’ भट्टराईले भन्नुभएको छ ।