काठमाडौं, असार १४
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार नेता डा.शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ । आज नेता पौडेल निवास बोहोराटारमा भएको दुई नेताबीचको ‘वानु टु वान’ छलफलमा नेता डा. कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न र लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गर्नुभएको हो ।
विहान करिब डेढ घण्टा भएको छलफलमा सुरुमै नेता पौडेलले डा. कोइरालालाई सभापतिमा सघाउन भन्नुभएको थियो । पौडेलले भने आफूलाई एक वर्ष सभापतिमा सघाए त्यसपछि आफू छोड्न तयार रहेको बताउनुभएको थियो । पौडेलको भनाई उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘मलाई एक पटक सभापति बन्ने ठूलो इच्छा छ । अहिले मलाई छोडिदिनुस्, एक वर्षपछि तपाईलाई नै सहयोग गर्छु । अहिलेसम्मको राजनीतिक अनुभवलाई पार्टी नेतृत्वका रूपमा एक वर्षमै कार्यान्वयन गर्ने मेरो इच्छा पूरा गर्न सहयोग गर्नुस्।’
उक्त पौडेलको प्रस्तावपछि डा. कोइरालाले लामो राजनीतिक अनुभव प्रधानमन्त्रीका रूपमा कार्यान्वयन गर्न सहज हुने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न र प्रधानमन्त्रीको उम्मेदवार बन्न भन्नुभएको थियो । उहाँले आफूलाई सभापतिमा सहयोग गरेर २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेर अघि बढ्नेसमेत बताउनुभएको थियो ।
उहाँले थप्नुभयो, ‘तपाईप्रति पार्टीमा सबैको सम्मान छ । आम नागरिकले पनि तपाइँलाई सम्मान गर्छन् । लामो राजनीतिक अनुभव छ । सभामुख, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भएको अनुभव प्रधानमन्त्री भएर कार्यान्वयन गर्नुपर्छ । तपाइँ प्रधानमन्त्रीको उम्मेदवार बन्नुस् । मलाई सभापतिमा सहयोग गर्नुस् ।’ उक्त प्रस्तावमा भने पौडेल मौन बस्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्