जनता टाइम्स

२१ असार २०७८, सोमबार १९:५२

नेपालमा चर्चित देवयानी भारतमा पनि बनिन चर्चित, यस्तो छ कारण


काठमाडौं, असार २१ । राप्रपा अध्यक्ष पुशपति शमशेर जवराकी छोरी देवयानी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त हुनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो । देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गर्नुभएको छ । यसअघि उहाँ कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशक हुनुहुन्थ्यो । त्यसअघि राणाले संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी) लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्नुभएको थियो ।

कोकाकोला भारतको उपाध्यक्ष नियुक्त भएसँगै राणा नेपालमा जस्तै भारतमा पनि निकै चर्चित बन्नुभएको छ । नेपालमा दरबार हत्याकाण्ड हुँदा देवयानीको नाम चर्चित थियो । पशुपतिशमशेरकी कान्छी छोरी देवयानीको तत्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको र दिपेन्द्र उहाँलाई नै बिवाह गर्न इच्छुक भएपनि आमा सहमत नभएको समाचार त्यसबेला आएका थिए । दिपेन्द्रको देवयानीसँगको सम्बन्ध दरबारले नकारेको थियो। त्यही कारणले आमाबुवासँग मनमुटाव भएपछि दीपेन्द्रले २०५८ जेठ १९ गते दरबारमा गोली चलाएको दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

दरबार हत्याकाण्डको पाँच वर्षपछि २०६३ फागुन १० गते देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गर्नुभएको थियो । देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि रुची देखाउनु भएको थियो । उहाँ चार वर्षअघि राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बन्नुभएको थियो ।