जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार ०८:५२

नेवानिका अध्यक्ष मदन खरेललाई चार बुँदे स्पष्टिकरण


काठमाडौं, जेठ ३२

उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटाको समाचार सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो ? निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो ।

खरेलले भने आफू अध्यक्ष भएर आउनुअघिदेखि नै आन्तरिक उडानका जहाज थन्किएको दाबी नयाँ पत्रिकासँगको अन्तर्वार्तामा गरेका छन् । तर, मन्त्रालयका एक अधिकारी खरेलको जवाफ गैरजिम्मेवार रहेको बताउँछन् । ‘कार्यकारी अधिकारसहित नियुक्त भएर आएपछि निगमको अवस्था सुधारमा लाग्नुपर्नेमा पहिल्यैदेखि उस्तै थियो भन्नु गैरजिम्मेवार छ । यसलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ,’ ती अधिकारीले भने ।

अन्तर्राष्ट्रिय उडानबारे पनि सोधिने

आन्तरिक उडानको अवस्थाबारे सोधिएको स्पष्टीकरणको जवाफ आएपछि अर्को स्पष्टीकरण सोध्ने मन्त्रालयको तयारी छ । स्रोतका अनुसार दोस्रो चरणमा पाइलट व्यवस्थापन नभएको, नयाँ रुटमा उडान थाल्न नसकेको र एयरबसका न्यारोबडी र वाइडबडी जहाजको उडान प्रभावकारी हुन नसकेको सन्दर्भमा स्पष्टीकरण सोध्ने तयारी छ । ‘यी जहाज उडाउन नयाँ रुट खोल्न गम्भीर प्रयास गर्नु त परको कुरा, हुनै लागेको जापानको ओसाका उडान पनि अन्तिम चरणमा आएर स्थगित भयो,’ मन्त्रालयका अधिकारीले भने, ‘त्यसैले उनीसँग थप स्पष्टीकरण हुन्छ ।’ नयाँपत्रिका