जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १५:१४

शनिवारबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय


काठमाडौं, साउन ८ । सरकारले शनिवारखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा ल्याउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णयबारे जानकारी दिएको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताउनुभयो । लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले सुझाव दिएको छ ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको सूचनामा जनाइएको छ । काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ । उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ ।