जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १८:५०

ओली सरकारको कामले ल्याएको सुखद परिणाम, नेपालको निर्यात २० वर्षयताकै उच्च


काठमाडौं, साउन ८ । नेपालको निर्णय २० बर्षयताकै उच्च रहेको छ । आर्थिक वर्ष २०७७/७८ नेपालले २० बर्षअघि तय गरेको लक्ष्य पूरा गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको ब्यवस्थित योजना र नितीगत सुधारका कारण सरकारले २० बर्षअघिको लक्ष्य यस बर्ष पूरा गरेको हो । निर्यात बढे पनि आर्थिक बर्ष २०७७/७८ मा मा नेपालको कुल व्यापार घाटा २७.२७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा निर्यात भने ४४.४३ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ९७ अर्ब ७ करोड थियो ।

सरकारले २० वर्षअघि नेपालको निर्यात १ खर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । सो लक्ष्य आर्थिक वर्ष २०७७/७८ को वैशाखमा आएर पूरा भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको तेल, पाम आयल, गार्मेन्ट, धागो, अलैंचीलगायतका वस्तु निर्यात हुन्छ । गत आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको वस्तु विदेशबाट आयात भएको छ । २०७६/७७ मा भने यो १० खर्ब ९ अर्ब छ ।

आव २०७७/७८ मा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.२७ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटामध्ये सबैभन्दा धेरै भारतसँग ८ खर्ब ६५ अर्ब छ । त्यस्तै, दोस्रोमा चीनसँग २ खर्ब ३३ अर्ब रहेको छ । भारतबाट ९ खर्ब ७१ अर्ब वस्तु आयात हुँदा नेपालबाट भने १ खर्ब ६ अर्बबराबरको निकासी भएको छ । चीनसँग भने २ खर्ब ३३ अर्ब रूपैयाँको वस्तु आयात हुँदा १० अर्ब बराबरको निर्यात भएको छ । सबैभन्दा धेरै वस्तु आयातमा फलामको कच्चा पदार्थ, पेट्रोलियम पदार्थ र सवारी साधनलगायत रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष कोरोना महामारीको कारण वस्तु कम आयात हुँदा व्यापार घाटा घटेको थियो । जसले गर्दा विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलन बढेको थियो । व्यापार घाटा घटेको कारण वस्तु आयातमा कमी भई सरकारले उठाउने भन्सार र मूल्य अभिवृद्धि करलगायतमा कमी आएको थियो ।