जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १०:४६

राधिका शाक्यको पुस्तकले खोलिदिएको माधवको त्यो अपराध


एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि बरिष्ठ नेता माधवकुमार नेपालले कतिसम्म अपराध गर्नुभएको रहेछ भन्ने तथ्य ओलीपत्नी राधिका शाक्यले लेख्नुभएको मेरा अनुभूति नामक पुस्तकले खोलिदिएको छ । केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमै सार्वजनिक भएको शाक्यको पुस्तकको बैंककमा बिताएका त्रासद दिनहरु उपशीर्षकमा प्रस्तुत बिषयले माधवले गरेको अपराधलाई भण्डाफोर गरेको हो ।

शाक्यले लेख्नुभएको छ, ‘ माधव नेपाल, जसको सधैँभरिपार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्याे । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो । यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र ?’

बैंककमा बिताएका त्रासद् दिनहरू

थाइलाण्डको राजधानी बैंकक हाम्रो लागि नयाँ ठाउँ होइन । २०५२ साल साउनको अन्त्यमा पहिलो पटक उपचारकै लागि हामी बैंककको समितिभेज अस्पताल गएका थियौँ । त्यहाँ चार पाँच दिन उपचार गराएर फर्केका थियौँ । त्यसपछि २०६४ साउनमा उहाँको मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि एक दुई पटक बैंकक जाने क्रममा बुमरुङगार्ड अस्पताल गएर सामान्य चेकअप गराएका थियौँ । तर यसपल्ट २०७१ वैशाखमा अचानक बैंककको बुमरुङगार्ड अस्पताल पुग्नु पर्यो, त्यो पनि एयर एम्बुलेन्सबाट करिब अर्धचेत अवस्थामा उहाँलाई लिएर ।

२०७० मंसीरको चुनाब हुनु अगाडिदेखि नै उहाँको हातको छाला र औँलाहरू अलि अलि सुनिएजस्तो, छाला कालो भएजस्तो लक्षणहरू देखापरेका थिए । तर,चुनाबको चपेटाले गर्दा खासै ध्यान दिन सकिएन । चुनाबपछि २०७० फागुनमा टोखास्थित ग्राण्डी अस्पतालमा चेकअपको लागि जाने क्रममा भर्ना नै गरियो । यहाँ १०–१२ दिनको उपचारपछि घर आएर पुनः हामी लगत्तै दिल्लीको साकेतस्थित म्याक्सअस्पतालमा भर्ना भयौँ त्यहाँ एकमहिना लामो अस्पताल बसाईपछि बाहिर आएर थप दुई हप्ता दिल्ली बसेर २०७१ वैशाख ४ गते बुधबार तदनुसार १६ अप्रिल २०१४ मा मात्र नेपाल फर्केका थियौँ ।

काठमाडौँ एयरपोर्टमा नेता,कार्यकर्ता,परिवार, शुभचिन्तकको ठूलो समूहले स्वागत गरेका थिए । घर पुगेदेखि उही खालको भेटघाटको सिलसिला चलिहाल्यो । केही आराम मिल्ला कि भनेर दुई दिन गोकर्ण रिसोर्ट पनि गएर बस्यौँ । तर अर्को हप्ताको बिहिबार बेलुकादेखि उहाँलाई साह्रै टाउको दुख्यो, अनि लगातार वान्ता भयो । भोलिपल्ट डाक्टर ऋषि काफ्ले हाम्रो घरमै आएर जाँच गर्नुभयो । डा. काफ्लेले डिहाइड्रेसन छ, दुई तीन वटा स्लाइन चढाएपछि ठिक हुन्छ भनेर जानुभयो । दुई जना स्वास्थ्यकर्मी आएर स्लाइन चढाइयो र उपचार सुरु पनि भयो । तर बेलुका सम्ममा पनि कुनै सुधार देखिएन । राति फेरि डाक्टर दिलिप र डाक्टर कैलाश र अरु पनि आएर हेर्नुभयो । उहाँहरूले स्लाइन थप्दै लैजानुभयो । तर टाउको दुखाइ र वान्ता रोकिएन । यसरी शुक्रबारदेखि आइतबारसम्म घरमा राखेर उपचार गर्दा पनि सुधार नदेखिएपछि डा.ऋषि काफ्ले, डा. दिव्या सिंह, डा. मुकुन्द सबैको सुझाब अनुसार आइतबार राति त्रिवि शिक्षण अस्पताल लगियो ।

अस्पताल पुगेपछि राति नै सीटीस्क्यान र ढाडबाट पानी निकाल्ने र अन्य परीक्षण सुरु गरियो । ती परीक्षणहरूमध्ये ढाडबाट निकालिएको पानीको जाँचबाट उहाँलाई क्रिप्टोकोर्स मेनेन्जाइटिक्स् भनेर चिनिने कडा रोग लागेको छ भन्ने पत्ता लाग्यो र रातिबाट नै उपचार सुरु गरियो । एमआरआई पनि गरी हेरियो । अरु रिपोर्टस् नराम्रो थिएन । यसरी फेरि अर्को कडा खालको अर्थात्बढी जोखिमयुक्त रोगले उहाँलाई दुःख दियो । टिचिङ अस्पतालमै रोग पत्ता लगाई उपचार सुरु भएको भए पनि अन्त्यमा उहाँलाई बैंककको वुङरुङगार्ड अस्पताल लाने निर्णय गरी एयर एम्बुलेन्स बोलाइयो । यस्तो निर्णय गर्नुमा मूलतः अस्पतालमा भेट्न आउनेको भीड, अस्पतालभित्र हुने फोहोरी राजनीति र उहाँको जटिल रोगहरूको कारणलाई ध्यानमा राखिएको थियो ।

डाक्टरहरू, नेपाल सरकार र नेकपा (एमाले) का प्रतिनिधिबीच गहन छलफल गरी जोखिम न्युनीकरणका लागि बैंकक लाने निर्णय भएको थियो । सोही निर्णय अनुसार २०७१ वैशाख १७ गते टिचिङ अस्पतालबाट सिधै एयरपोर्ट पुर्याएर एयर एम्बुलेन्सबाट बैंकक लगिएको थियो । जहाजमा उतैबाट आएका तीनजना स्वास्थ्यकर्मी र यताबाट बिरामीसहित डा. दिव्या सिंह शाह र राजेश वज्राचार्य गएका थिए । तीन घन्टाको हवाई यात्रापछि उहाँलाई अस्पताल पुर्याएर भर्ना गरियो । त्यस रात राजेश उहाँको साथमै बसे र डा. दिव्या सिंह शाह नेपाली दूतावासमा गएर सुत्नुभयो । जहाजमा केपीजीले जापानिज खाना सुसी खानुभएको थियो रे ।

उहाँलाई बिदा गरेर बैंकक पठाइसकेपछि टिचिङ अस्पतालको डिस्चार्ज पेपर बनाउने, भुक्तानी गर्ने लगायत सबै काम गरी म घर बालकोट फर्कें । अनि बैंककमा नेपाली दूतावासका डीसीएम डोरनाथजीको सम्पर्कमा रहेँ । बिरामी उता त्यस्तो अवस्थामा हुनुहुन्छ, म यता घरमै छु । यस्तो परिस्थितिमा मन एकदम भारी भएर आयो । घर पुगेपछि कसैले नदेख्ने गरी एक छिन त रोएँ । रातभर सुत्न सकिनँ । पछि आफैँ सम्हालिएँ । भोलिपल्ट बैकंक जाने तयारी गरेँ ।

१८ गते बिहान पनि डोरनाथजीसँग सम्पर्क गरी स्थितिको जानकारी लिएँ । पछि राजेशले मोबाइलमा उताको सिमकार्ड राखेँ भनेर फोन गरे । फोनमा कुरा गर्दा ऊ अलि बढी अत्तालिएको छ जस्तो लाग्यो । उसको बोल्ने तरिकाले म झन् छट्पटिएँ, पानीबाट निकालेर बगरको तातोमा पछारिएको माछा झैँ । तर के गर्नु टाढा छ । त्यसपछि इन्द्र, शीतललाई बैंककमा सम्पर्क गर्ने फोन नम्बर दिएर म एयरपोर्टको लागि घरबाट निस्किएँ । मलाई एयरपोर्टसम्म पुर्याउन गएका इन्द्र भण्डारी, लोकबहादुर भण्डारी, र किसान श्रेष्ठ अनि त्यहीँ भेटिएका सुभाष, यादव खनाल र नवराज ढकालसँग बसेर चिया खाएँ । चिया खाँदै गर्दा पनि मेरो मन छट्पटीले उतै दौडिएको थियो । एयरपोर्टबाट उडानका सबै प्रक्रिया टीजीकै एक जना नेपाली स्टाफले पूरा गरिदिएका थिए ।

काठमाडौंको एयरपोर्टभित्र टीजीको बिजनेस क्लासको लागि एउटा भव्यलन्ज र रेष्टुरेन्ट रहेछ । आफूमा पैदा भएको बेचैनी र छटपटीले, यो मैले पछि मात्र याद गरेँ । पहिलो पटक नेपालको एयरपोर्टभित्र पनि यस्तो स्थान देख्न पाएको थिएँ । जहाज अवतरण हुने समयमा ठूलो पानी पर्नाले बोर्डिङ पास केही ढिलो भयो । अन्त्यमा दिउँसोदुई बजेतिर जहाज उड्यो । जहाजको यात्रा अवधिभर मनमा अनेकौँ शङ्का र डर बोकेर बसिरहेँ । बैंकक पुगेर एयरपोर्टका सबै प्रक्रिया पूरा गरेर सिधै अस्पताल गएँ । म अस्पताल पुग्दासाँझको ७ बजिसकेको थियो । हतपत उहाँलाई राखिएको कोठा नम्बर ११११ मा पसेँ र उहाँलाई हेरेँ । म आइपुगेँ भनेर जानकारी दिन खोजेँ । तर उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । कोठामा डा. दिव्या सिंह, सुरज र जेनी थिए । उहाँको स्थिति राम्रो छ जस्तो लागेन ।

आखिर जे भए पनि सहनु बाहेक मेरो सामु अरु बिकल्प थिएन । यसैबीच डा. दिव्या सिंह शनिबार बिहान नेपाल फर्कने कुरा भयो । अनि मलाई लाग्यो कि त्यहाँका डाक्टरहरूसँग कुरा गर्नका लागि भए पनि हाम्रो साथमा एकजना नेपाली डाक्टर हुनुपर्छ । यो अनुभव मैले पहिले पनि गरिसकेकी थिएँ । त्यसैले मैले डा.दिलिपलाई शुक्रबार नै बैंकक बोलाएँ । राति मलाई खान र सुत्न सुरजको घरमा बोलाइएको थियो । उहाँको स्थिति नाजुक भएकोले म गइनँ । बरु आफू रातभर बसेँ र राजेशलाई सुत्न दिएँ ।

अस्पताल बसुञ्जेल मेरो र राजेशको बास अस्पतालको सोफामै भयो । राति एक दुई बजेसम्म एक जना सुत्ने अर्कोले कुर्ने, अनि बिहानसम्म अर्को सुत्ने गरेर हामीले समय मिलाएका थियौँ । एक हप्ता जति पछि मेरो र राजेशको स्वास्थ्यलाई ध्यानमा राखेर रातको लागि एकजनानर्सको व्यवस्था गर्न लगाएँ । ती नर्स यस अस्पतालको स्टाफ थिइनन् । सुरुको अवस्थामा त्यहाँका डाक्टरहरूले केपीजीको बाँच्ने सम्भावना २० प्रतिशत मात्र छ भनेका थिए । हुन पनि अस्पतालमा हुँदा समेत धेरै दिनसम्म उहाँलाई टाउको दुख्न निको भएन । उहाँको टाउको दुखेका बेला हामीलाई हेर्न र सहन समेत निकै गाह्रो हुन्थ्यो । तर,त्यो पीडादायी दृश्य हेर्नु पर्ने बाध्यता थियो । एक पटक उहाँको ढाडबाट पानी निकाल्दा दुखेर उहाँ जोडजोडले कराउनुभो । त्यसबेला मेरो छाती नै फुट्ला जस्तो भयो । सायद,पानी निकाल्ने डाक्टर अलि नयाँ थिए कि ? नत्र त्यति साह्रो कराएको मलाई कहिल्यै अनुभव छैन । उहाँ अर्धचेत अवस्थामै हुनुहुन्थ्यो । अनि अस्पतालका कोठाको भित्तामा झुण्ड्याइएका तस्बिरहरू हेरेर तिनीहरूलाई बामदेव गौतम, विष्णु पौडेल आदिको तस्बिर भन्नुहुन्थ्यो । यसरी स्मरणशक्ति पनि हराएको थियो । यस स्थितिमा एक हिसाबले उहाँको आश मैले गुमाइसकेकी थिएँ ।

यसरी मानसिक र शारीरिक दुबै हिसाबले तनावको स्थिति भोग्न बाध्य भइरहेकै बेला अर्को एउटा तनाव आइलाग्यो । मे चार तारिख आइतबारको दिन म सुरजको घरमा खाना खाएर अस्पताल जान निस्किएकी थिएँ । आइतबार भएको हुनाले त्यहाँ ट्याक्सी धेरै आउँदैनन् । अलिपरसम्म गएर टयाक्सी लिउँला भनेर घरबाट अलि पर पुगेकी थिएँ । यत्तिकैमा दुईजना मान्छेले मोटरबाइक हुइँक्याएर ल्याए । उनीहरू ठक्कर देलान् जसरी आइरहेका थिए । त्यसरी आफूतिर हुइँक्याएर आएको देखेपछि म अलि परतिर सरेर बसेँ । सडकको किनारतिर सर्न लाग्दालाग्दै फुत्त मेरो ब्याग खोसेर दुई वटा मोटरबाइक त्यहाँबाट भागे । नम्बर हेर्न त खोजेँ । तर आँखाले भ्याएन । म अक्क न बक्क भएँ । ब्यागमा मेरो सम्पूर्ण पैसा, गहना, मोबाइल, पासपोर्ट, चस्मा आदि थिए ।

म सधैँ जहाँ पनि प्राइभेट गाडीमा हिँड्ने भएर ब्याग सुरक्षित ढंगले बोक्नुपर्छ भन्ने ख्यालै भएन । दोस्रो,बैंककमा दिउँसै लुटिन्छ भन्ने सोच्नै सकिन । तेस्रो, श्रीमानको हालतले गर्दा मेरो होस ठेगानामा थिएन कि जस्तो पनि लाग्छ । जेहोस्, जिन्दगीमा पहिलो पटक धेरै सम्पत्ति गुमाउनु पर्यो । यसरी बाटोमा लुटिएपछि मैले जेनी र सुरजलाई घटनाको जानकारी गराएँ । पछि सुरज, दिनेश, निता र सुनील घटनास्थल आइपुगे र रिपोर्ट दिन भनेर पुलिस स्टेसन पुगे । थाइ भाषा जान्ने निताले सबै विवरण सहित निवेदन दिइन् । भोलिपल्ट पनि म एक चोटि पुलिस स्टेसन गएँ । तर सामान फिर्ता आउने सम्भावना देखिएन । यसरी दुःखमाथि दुःख बेहोर्नु पर्यो । तर मैले यो कुराको जानकारी केपीजीलाई दिइन ।

हामी अस्पतालको स्वीट रुममा बसेको हुनाले खान,बस्न,आराम गर्न नुहाइधुवाइ गर्न समस्या थिएन । अस्पतालमा नर्सिङ सेवा धेरै राम्रो थियो । सरसफाइ शिष्टता पनि त्यस्तै राम्रो थियो । आवश्यक सामग्रीहरू पानी, जुस, चिया, कफी, टावेल आदि मनग्य छन् । खाना तताउने ओभन, पानी उमाल्ने भाँडो, खाना खाने प्लेट, चम्चा, कचौरा आदि सबै छन् । नाम मात्र अस्पताल, सुविधा सबै स्टार होटलको भन्दा कम छैन । मे ६ तारिखको साँझ दूतावासका डीसीएम डोरनाथजी आएर औपचारिक रूपमा डाक्टरसँग कुरा गर्नुभयो ।

डाक्टरले अहिलेको लागि खतरामुक्त छ भनेर रिपोर्ट गरे । यसपछि अलि आशा पलायो । तर पनि कहिलेकाहीँ एक्लै हुँदा बिरामी कुर्न गाह्रो छ । बेडबाट खस्ने, लड्ने हो कि भनेर सधैँ सतर्क हुनु जरुरी छ । उहाँले ७ मे को बिहान उठेर ट्वाइलेटमै गएर दिसा, पिसाब गर्नुभयो । सायद दुई महिनापछि चियरमा बसेर भए पनि नुहाउनुभयो । बाथरुमदेखि सोफासम्म वाकरको सहायताले हिँडेर जान्छु भन्नुभयो । खाना पनि अलि खानुभयो । ६ मे मा वान्ता पनि भएन । ५ मे मा ढाडबाट निकालिएको पानीमा इन्फेक्सन छैन भनेर खबर आयो । अस्पतालमा भेट्न आउने साथीभाइहरू नेपालका नेता, कर्मचारी आदिको बारेमा आपसमा खुलेर गफ गर्छन् । हामीले कुरा नगरे पनि समय बिताउन सजिलो नै थियो ।

मे ८ तारिखको बिहान काँग्रेस पार्टीकी नेता मैयाँदेवी श्रेष्ठ र उहाँका सहयोगीहरू केपीजीलाई भेट्न आउनुभयो । श्रेष्ठजी स्वयं महिनाको एक पटक फलोअपको लागि यहाँ आउने गर्नुहुँदो रहेछ । उहाँले यो राम्रो अस्पताल हो, अस्ति नै केपीजीलाई यहाँ ल्याउनु पर्ने भनेर कराउनुभयो । तपाईंले नेपालमा धेरै गर्नु छ, तपाईं साँच्चैको नेता हुनुहुन्छ भनेर बूढी मान्छे भावुक हुनुभयो । उहाँको साथमा अरु तीन जना सहयोगीहरू थिए । आज पनि केपीजीको अवस्था राम्रै रह्यो । नुहाउने, खाने राम्रो भएको छ ।

आज थाइल्याण्डमा प्रधानमन्त्रीलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको हुनाले बाहिरी वातावरण अलि तनावपूर्ण होला । तर नेपालमा जस्तो उथलपुथलको स्थिति यहाँ भएको सुनिएन । मे ९ तारिखको बिहानै डा. दिलिप नेपाल फर्किनुभयो । उहाँको ठाउँमा डा. धर्मकान्त बास्कोटा दिल्ली हुँदै बैंकक आउनुभयो । तर आज खाना खाएपछि केपीजीले वान्ता गर्नुभयो । त्यसले उहाँलाई झन् शिथिल बनायो । साँझ, हिमालय किचनबाट एक जना नेपालीले खानामा मम र रोटी लिएर आउनुभयो । उहाँ पहिले पनि भन्ते बौद्ध भिक्षुको रूपमा बैंकक आउनुभएको रहेछ । आज राति एक बजेदेखि बिहान सवा ५ बजेसम्म म बिरामीकै कोठामा बसेँ । उहाँले मलाई ‘तिमी यहीँ बस म सुत्न सक्दिनँ’ भन्नुभएको थियो । फेरि तिमीलाई धेरै दुःख भयो भनेर चिन्ता पनि गर्नुभयो ।

यता उचपार खर्च सरकारले दिने निर्णय भए पनि आजसम्म कुनै रकम नपठाउँदा ठूलो तनाव भइरहेको थियो । एयर एम्बुलेन्सको समेत भुक्तानी भएको छैन । यसैबीच इन्फेक्सन्स् हेर्ने फिजिसियन डाक्टर बिहानै आउनुभयो । हिजोेको रिपोर्ट राम्रो छ भन्नुभयो । यहाँ आएदेखि तीन पल्ट ढाडबाट पानी निकालेर गर्ने टेस्ट गरिसकेको छ । फेरि घरीघरी म आँखा देख्दिन भन्नुहुन्छ । त्यसैले आँखाको चेकअपको लागि सम्बन्धित विभागमा लगियो ।

हामी बसेको भवन १२ तल्लाको छ । ११ औँ तल्लामा मात्र ५३ वटा कोठाहरू छन् । यसैबेला मेरो ब्याग लुटिएको खवर सुनिल खड्काले प्रचार गरेर नेपालभरि सनसनी फैलिएको कुरा बहिनीले फोनमा बताइन् । मेरो ब्याग लुटिएको कुरालाई सरकारबाट पैसा लिने निहुँ बनाएको भनेर प्रचार गरिएको रहेछ । हाम्रो इमान्दारिता र स्वच्छतालाई नबुझेको र अर्कैथरी प्रचार गरिएकोमा दुःख लाग्यो । यस खालको ताडना सहन निकै गाह्रो हुँदो रहेछ । मन बुझाउनै सकिन, त्यसै आँखा रसाए ।

१७–१८ दिनपछि आज बिहानदेखि उहाँलाई राम्रो भएको छ । पटक पटक खाना खाने, आफैँले दिसा धुने पनि गर्नुभयो । सबैभन्दा खुसीको कुरा त आज मलाई मेरो नामबाट नै बोलाउनुभयो । उहाँ सधैँ मलाई नानी भनेर बोलाउनुहुन्थ्यो । तर मलाई आज ‘राधिका कटनवर्ड देउ त’ भन्नुभयो । आज उहाँको टाउको, काँध, शरीर केही पनि दुखेको छैन । यता रगत जाँचको रिपोर्ट पनि हिजोको तुलनामा राम्रो आयो । मुलतः उहाँलाई मिर्गौला विशेषज्ञ नसा रोग विशेषज्ञ, जनरल फिजिसियन, चिनीरोग विशेषज्ञ, संक्रामक रोग विशेषज्ञ र रिह्याविलिटेसन विशेषज्ञ आदिले जाँच गर्नुहुन्थ्यो ।

१२ मे मा पनि स्थिति हिजोको जस्तै राम्रो छ । व्यायाम पनि गर्नुभयो । गीत, गजल सुनेर आनन्द लिनुभयो । आज डा. बास्कोटा नेपाल फर्किनुभयो । अब को आउनुहुन्छ थाहा छैन । बिहानदेखि रातिसम्मका औषधिहरू हेर्छु अत्यास लाग्छ । यति धेरै औषधि खानु पर्छ । आज साँझबाटै मुखको पाइप पनि हटाइयो । यसले गर्दा खान, बस्न अलि सजिलो भयो । यता नेपाल सरकारले केही रकम जम्मा गर्यो रे भन्ने खबर पनि आयो । अमेरिका बस्ने राजेन्द्र ओलीको साथी भनेर राजु सुवेदी भेट्न आउनुभयो । अनि राति डा. शक्ति बस्नेत पनि आउनुभयो । विष्णु पौडेलजीले फोन गर्नुभयो ।

आज बिहान माधव नेपाल बिरामी भएर अस्पताल भर्ना भएको खबर सुनेँ । उहाँको नाममा एउटा पत्र लेखेर शीघ्र स्वास्थ्यलाभको कामना गरी पत्र पोस्ट गरेँ । त्यस पत्रमा मैले जानीजानी नै म संसदीय दलका नेता केपी शर्मा ओली भनेर लेखेकी थिएँ । त्यस पत्रबारे नेपालमा खुब टिप्पणी भयो रे भन्ने सुनेकी थिएँ

१३ मे थाइल्याण्डमा वैशाख‘डे’को सार्वजनिक बिदा रहेछ । यसैको अवसरमा नेपाली दूतावासले साँझ पटायामा कार्यक्रम राखेको रहेछ । आज उहाँले पहिलो पल्ट बालकोटमा निर्माणाधीन घरको छत ढलानमा वाटरप्रुफ राखेको छ कि छैन भनेर मसँग सोध्नुभयो । यसको अर्थ उहाँको स्मरणशक्ति बढ्दै छ । मोबाइलबाट नेपाल सम्बन्धी केही समाचार सुन्नुभयो । कोठामा भएका किताबबाट कथाहरू पनि पढ्नुभयो । राति ड्युटीमा आएकी एक जना नर्स अलि बढी चकचके र गफाडी रहिछन् । राति १२ देखि एक बजेसम्म ब्रेक टाइम भनेर उनी बाहिर गइन् । २८ वर्षकी ती नर्सले फिलिपिन्समा तीनवर्ष र ताइवानमा दुईवर्ष काम गरिसकेँ भनिन् । उनको चञ्चले स्वभाव र एक घन्टा ब्रेक टाइमले गर्दा आजको रात म सुत्न पाइन । मे १४ तारिखमा नेपालमा बुद्ध जयन्तिको सार्वजनिक बिदा थियो । सबै काम, कुरा राम्ररी नै चलिरहेको थियो ।

यसैबेला न्युरोको डाक्टर आउनुभयो । चेकअप गर्नुभयो । तर उहाँले जाने बेलामा केपीजी नेपाल फर्किदा लठ्ठी टेकेर जान सक्नुहुन्छ भन्नुभयो । मिर्गौलाको अर्काे डाक्टर आएर सुत्दा मुख खोलेर सुत्ने र घुर्ने बानीले उहाँको दिमाग र मिर्गौलालाई नराम्रो हुन्छ भन्नुभयो । त्यसपछि उहाँ गम्भीर हुनुभयो । अलि चिन्ता लिएको जस्तो लाग्यो । अनि मैले यस्तो हुँदैन भनेर सम्झाएँ । यी डाक्टरहरूलाई तपाईंको स्वभाव, इच्छाशक्ति र दायित्वबारे थाहा छैन, उनीहरूले त साधारण व्यक्तिहरूसरह कुरा गरे भनेँ । त्यसैले चिन्ता लिनु आवश्यक छैन । नेपाल फर्कदा तपाईं बलियो भइसक्नुहुन्छ भनेर मैले धेरैबेर सम्झाएँ ।

यता नेपालबाट बामदेवजीका भाइ बासु गौतम आफ्ना छोराको उपचारका लागि यही अस्पताल आएको खवर सुनेँ र राति नै उहाँको कोठा पत्ता लगाएर भेट्न गएँ । उहाँहरू ८४० नम्बरको कोठामा हुनुहुँदो रहेछ । बिरामी प्रवेश गौतम र आन्टीलाई भेटेँ । बासुजी कोठा खोज्न जानुभएको रहेछ, भेट भएन । १५ मे को दिन अन्तर्राष्ट्रिय खबरमा टर्कीमा माइन बिस्फोट भएर दुई सय जनाभन्दा बढीको मृत्यु भएको र नाइजेरियामा बोकोहराम भन्ने समूहले स्कूलका दुई सय जना केटीहरू अपहरण गरेर लगेको आदि सुनेँ । आज बिहान माधव नेपाल बिरामी भएर अस्पताल भर्ना भएको खबर सुनेँ । उहाँको नाममा एउटा पत्र लेखेर शीघ्र स्वास्थ्यलाभको कामना गरी पत्र पोस्ट गरेँ । त्यस पत्रमा मैले जानीजानी नै म संसदीय दलका नेता केपी शर्मा ओली भनेर लेखेकी थिएँ । त्यस पत्रबारे नेपालमा खुब टिप्पणी भयो रे भन्ने सुनेकी थिएँ ।

वैशाख ‘डे’को उपलक्ष्यमा नेपालबाट १७ जनाको टोली भियतनाम गएको र फर्किने क्रममा बैंकक पनि घुम्ने भनेर आएका थिए । ती मध्ये मेरो माइती पाटनका नारायण अवाले, (११ नं वडा अध्यक्ष) बाबुकाजी र गोपाल महर्जन हामीसँग भेट्न जेनीसँग अस्पताल आएका थिए । अस्ति मात्र आर्मी पाइलटको तालिममा आएका दुईजना पनि भेट्न आएका थिए । हिजो अस्तिदेखि दिनको दुई पल्ट फिजियोथेरापीको लागि ‘उहाँलाई एम–फ्लोर’मा लाने गरिएको छ । भोलिदेखि मुख्य रोग मेनेन्जाइटिसको झोल औषधि खुवाउन बन्द गरी अरु औषधि दिने कुरा डाक्टरले भन्नुभयो । यसको मतलव स्लाइनको लागि राखिएको पाइप हट्ने भयो । यो पनि खुसीको खबर हो ।

उता कोरियाबाट फर्किने क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुकुन्द ढुंगेल डोरनाथजीसँग अस्पताल आउनुभयो । उहाँले मन्त्रीसँग अलि लामो कुराकानी गर्नुभयो । त्यसैबेला मिर्गौलाको डाक्टर आएर मंगलबार डिस्चार्ज हुनसक्ने खबर दिए । ती डाक्टरसँगै डायबिटिजको डाक्टर पनि आएकी थिइन् । उनले केपीजीलाई घर जान चाहन्छौ भनेर सोधिन् । यता बामदेवजीका भाइ बासु गौतम र हरि पराजुलीका भाइ पनि भेट्न आउनुभयो । १७ मेमा मुख्य औषधि बन्द गरियो । यो औषधिको साइडइफेक्टले मिर्गौलालाई असर गर्छ रे भन्छन् । तर, बिस्तारै केपीजी तङ्ग्रिँदै जानुभयो । अब त खाना पनि आफैँ खानुहुन्छ । आज फेरि फिलिपिन्सबाट फर्किने क्रममा ऊर्जामन्त्री राधा ज्ञवालीजी भेट्न आउनुभयो ।

१८ मेको दिन बिहान७ बजेदेखि दिउँसो एक बजेसम्म म आफ्नै सामान्य स्वास्थ्य परीक्षणका लागि व्यस्त भएँ । साँझ मैले टाउको अलि भारी छ भनेपछि उहाँले चिन्ता गर्नुभयो । अनि उहाँलाई सान्त्वना दिन पनि मैले आफू फ्रेस भएको देखाउनु पर्यो । धेरै लामो समयको अस्पताल बसाइ र चिन्ताले गर्दा अलि बिसञ्चो होला कि भन्ने डर मनमा त थियो नै । १९ मेको दिन डा. शक्ति बस्नेत आएर किड्नी फाउण्डेसनको तर्फबाट शीघ्र स्वास्थ्यलाभको फ्रेम सहितको पत्र दिएर जानुभयो । उहाँले हिजो ‘विकेन मार्केट’ जाँदा मोबाइल हराएको कुरा गर्नुभयो । आज मैले उहाँको क्यानेला राखेको ठाउँमा ड्रेसिङ् गरिदिएँ । यस्तैमा एकाउन्ट युनिटका एक जना स्टाफ आएर पैसा धेरै बाँकी देखियो, केही भए पनि आजै जम्मा गरिदिनु भनेर गए । त्यसपछि मैले दूतावासमा फोन गरेर यो जानकारी दिएँ । यता दिनको दुई पल्टको फिजियोथेरापीले उहाँलाई राम्रो हुँदै गइरहेको थियो । आजदेखि रातिको ड्युटीमा थाई नर्स नै आइन् । फिलिपिनो नर्ससँग व्यवस्थापनको केही समस्या पर्योजस्तो लाग्छ । फिलिपिनोहरू खर्च कम गर्न शहरी क्षेत्रभन्दा टाढा बस्ने गर्दछन् रे भन्ने सुनेकी थिएँ ।

२० मे मङ्गलबार डाक्टरको भनाइ अनुसार डिस्चार्ज हुन सक्ने दिन थियो । तर हामीले शुक्रबार मात्र जान चाह्यौँ । कारण फिजियोथेरापीको कोर्ष बाँकी थियो । अस्पतालबाट बाहिर गएपछि आउजाउ गर्न गाह्रो हुन्छ । विविध कारणले म आज बढी तनावमा परेँ । एक त अस्पतालको असजिलो दिनचर्या, दोस्रो नेपालको राजनीति त्यसमा पनि आफ्नै पार्टी भित्रको अस्वस्थ र दुष्टतापूर्ण चरित्र । उता अस्पतालको रकम भुक्तानीको समस्या ।

मेरो ब्याग लुटिएको कुरालाई सरकारबाट पैसा लिने निहुँ बनाएको भनेर प्रचार गरिएको रहेछ । हाम्रो इमान्दारिता र स्वच्छतालाई नबुझेको र अर्कैथरी प्रचार गरिएकोमा दुःख लाग्यो । यस खालको ताडना सहन निकै गाह्रो हुँदो रहेछ । मन बुझाउनै सकिन, त्यसै आँखा रसाए ।

नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । माधव नेपाल, जसको सधैँभरिपार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्याे । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो । यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र ?

राष्ट्र बैंकका पूर्व कर्मचारी भाइकाजी श्रेष्ठ र म्याडम आजै भेट्न आउनुभएको थियो । म्याडमको पनि एपोइन्टमेन्ट रहेछ । उहाँले छोराको उपचार पनि यहीँ गरेको भन्नुभयो । २२ मेको दिन दिउँसो१२ बजेदेखि एक बजेसम्म केपीजीले अन्नपूर्ण पोष्टका लागि दिल्लीमै बसेर अन्तरवार्ता दिनुभयो । राति १० बजेदेखि बिहान ५ बजेसम्म बैंककमा कफ्र्यू थियो । यसले म्याक डोनाल्डसम्म बन्द भयो । राति डा. गोपाल सिवाकोटी पनि भेट्न आउनु भएको थियो । फोनमा माधव ढुंगेलसँग नेपालमा कुरा गरेँ । केपीजीले गृहमन्त्री बामदेव गौतमजीसँग कुरा गर्नुभयो । २३ मे, आज केपीजीको डिस्चार्ज हुने दिन । मनमा एक प्रकारको खुसी छाएको छ । अर्कोतर्फ डर पनि छ । उपचारका क्रममा लागेको सबै रकम भुक्तानीबिना डिस्चार्ज हुँदैन भनेकोले हिजोदेखि नै प्रयास भइराखेको थियो । भुक्तानी सम्बन्धी दिनभरको तनावपछि बल्ल डिस्चार्ज भयो ।

अस्पतालबाट डिस्चार्ज भएर बाहिर आउँदा साँझको साढे ६ भइसकेको थियो । त्यसपछि हामी नेपाली दूतावास सुकुमबिट रोडसोइ ७१ मा आयौँ । यहाँ पनि चैनसँग बस्न नदिनेहरू निस्किए । अस्पतालमै थप समय बस्नुपर्छ भनेर जिद्दी गर्नेहरू पनि निस्किए । हामी आफ्नो निर्णय आफैँ गर्ने भन्दा पनि अरुको इच्छा अनुसार चल्नुपर्ने जस्तो भयो । यसले मलाई बिथोलिरहेको थियो । दूतावास पुगेर केपीजीलाई अलिकति खानेकुरा दिएर अगाडिको जस्कोमा गएर केही खानेकुरा किनेर ल्याएँ । हतार हतार गरी दाल,भात तरकारी पकाएँ, ख्वाएँ र खाएँ । कोठाभरि छरिएका सामानहरू मिलाएँ । औषधिको काम राजेशले गरे । अन्त्यमा रातको १२ बजेपछि सुतेँ । तर उहाँलाई ट्वाइलेट लानको लागि छिनछिनमा उठिरहनु पर्छ ।

जसोतसो समय बितिरहेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रूपमा तीनदेखि ६ घन्टासम्म फिजियोथेरापीको समय छ । यसरी अस्पताल जाँदा र फर्कदा पनि व्यवधान गरेर समय नष्ट गर्ने मानिसहरू नभएको होइन । यस्तो व्यवधान हुन्छ भनेर नै कोही साथीहरूले फलोअप सकेपछि बैंककदेखि अलि टाढा गएर बस्ने कि भन्ने कुरा चलाएका थिए । तर विविध कारणले हामीले जाने इच्छा गरेनौँ ।

शुक्रबार डिस्चार्ज भएर फर्केपछि आज बुधबार बिहानसाढे ९ बजे अस्पताल पुगेँ । रगत जचाउन दिएँ । मिर्गौलाका डाक्टर सिरासँगको अपोइन्टमेन्ट दिउँसो पौने १२ बजे मात्र भएकोले अस्पतालमै बसिरहेँ । डा. सिरासँग जचाइसकेपछि फेरि अस्पताल भर्ना हुनुपर्ने भनियो । पोटासियम ६ दशमलव ५, क्रेटिना २ दशमलव १ र ड्रगलेभल १२ देखिएकाले भर्ना हुनु परेको हो । डक्टरका अनुसार पोटासियम बढी भएमा मुटुलाई धेरै जोखिम हुन्छ । बिरामी मर्न पनि सक्छ भनेर डाक्टरले डर देखाए । त्यसपछि सीसीयुमा भर्ना गर्न बेडको खोजी भयो । त्यहाँ नपाएर आइसीयुमा लगेर राखियो । उता अस्पतालको लेखा शाखामा जाँदा तत्कालै दुई लाख भाट जम्मा गर्नुपर्छ भन्यो । हामीले उक्त रकम जम्मा गर्न सकेनौँ । तर, नेपाली दूतावासबाट आएको भनेर भर्ना ग¥यो । भर्नापछि उहाँलाई आइसीयुको ५२६ नम्बर कोठामा राखेर हामीले फूडकोर्टमा गएर अलिकति खानेकुरा खायौँ ।

त्यसपछि म दूतावास फर्कें । कोठाका छरपस्ट सामान मिलाएँ । फोनबाट उहाँको अवस्थाबारे जानकारी पनि लिँदै गएँ । अर्कोतर्फ मैले फेरि पैसा खोज्नुपर्ने भयो । साँझको रिपोर्टमा सुधार आएको हुनाले उहाँलाई राति पहिलेकै कोठा ११११ ‘ए’मा सार्ने कुरा भएछ । म फेरि अस्पताल गएँ । राजेश र म अस्पतालकै सोफामा सुत्यौँ । भोलिपल्ट डा. सिरा र डा. इन्फेक्सनरी आएर जाँचेपछि आजै डिस्चार्ज हुने भयो । डिस्चार्ज नभएको भए हामी तनावमै हुन्थ्यौँ । एक दिनको मात्र शुल्क भएकोले पैसा पनि पुग्यो । यसरी २९ मे तदनुसार १५ जेठ २०७१ को गणतन्त्र दिवसका दिन राति फेरि हामी दूतावास आएर बस्यौँ । धेरै थकानले गर्दा दूतावासको कार्यक्रममा जान पनि सकिएन । ३० मे को बिहान फेरि अस्पताल गएर उहाँको रगत जचाइयोे । आजको रिपोर्टमा पोटासियमको मात्रा ५ दशमलव २ आयो । यसपछि उहाँले तीन दिन फलफूल खान बन्द गर्नुभयो । पोटासियम कम हुने खानाको चयन गरी खान दिएँ । यसपल्ट उहाँलाई पोटासियम वृद्धिले सतायो । अस्ति दिल्लीमा पोटासियम नपुग्ने समस्याले सताएको थियो । त्यसपछि हामी ३१ मे र १ जुनमा फिजियोथेरापीको लागि अस्पताल गयौँ । दुई जुनमा फेरि परीक्षण गरायौँ । आजको रिपोर्ट अलि राम्रो आएको हुनाले धेरै दिनपछि हामीले आनन्दले स्वाद लिएर खाना खायौँ ।

यसरी ठूलो सङ्कट पार गरी २० जेठ २०७१ को दिन हामी बैंककबाट काठमाडौंँ फक्र्याैं । फर्कदा काठमाडौंको विमानस्थलमा धेरै साथीभाइ र आफन्तहरूले स्वागत गरेका थिए । घर फर्केपछि त्यही साँझ झलनाथजी र विष्णु पौडेलजी भेट्न घरमा आउनुभयो । विष्णुजीले मेरो साहस र धैर्यताको प्रशंसा गर्नुभयो । भोलिपल्ट मैले काठमाडौंमै उहाँको रगत जचाएँ । रिपोर्टमा के ५ दशमलव ६ देखियो । उहाँले राति पेट र छाती दुख्यो भन्नुभयो । राति डाक्टर दिलिप शर्मालाई लिन पठाएँ । उहाँ आएर हेरेपछि रातको तीन बजेतिर केपीजी निदाउनुभयो । सोमबार डा. दिव्या आएर जाँच गर्नुभयो ।

धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौंको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन । पछि २०७३/०७४ सालतिर उहाँको हर्नियाको अपरेसन गर्न उही बुमरुङगार्ड अस्पताल बैंककमा चार पाँच दिन बसेका थियौँ । उक्त समयमा एउटा औषधि समयमा खान छोड्दा मुटुको चाल बढेर एक दुई घन्टा थप समय ‘अपरेसन पोस्टवार्ड’मा बस्नु परेको थियो । (शाक्यको मेरा अनुभूति पुस्तकको एक अंश)