जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १३:३५

एमाले फुट्दैन, केही नेता छुट्न सक्छन् : नेता ज्ञवाली


बुटवल, साउन १०

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमाले नफुट्ने दावी गर्दै केही प्रमुख नेताहरू भने छुट्न सक्ने बताउनुभयो । प्रेस चौतारी नेपालले गुल्मीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले कार्यदलबीच भएको १० बुँदे सहमतिको जगमा पार्टीलाई एकतावद्ध बनाइने बताउनुभएको हो । भेटघाटमा ज्ञवालीले पार्टीमा बाटो बिराएका र गल्ती गरेकालाई एकताको पक्षमा ल्याउन निकै कसरत भए पनि केही नेताज्युहरू गठबन्धन धाएर परपर सरेको टिप्पणी गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रको अस्पताल, सडक, खानेपानी, विद्यालयलगायतका विकास पूर्वाधारको विषयमा अनुगमन गर्नुभएको उहाँले पार्टी विभाजनले कसैलाई पनि फाइदा नभएको उदाहरण नेपालमै भएको भन्दै फुट्नेभन्दा पनि केही नेता छुट्ने संभावना बढी भएको सुनाउनुभयो ।

त्यस्तै अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नजिर शुरू गरेर बहुदलीय व्यवस्था मास्ने खेल सुरू भएको नेता ज्ञवालीको आरोप छ । उहाँले भन्नुभयो, ‘केही पार्टी र नेतालाई जनताभन्दा अदालतको बढी विश्वास गर्ने भएकाले अदालत त्यसैमा फसेर बहुदलीय प्रणाली मास्ने खेल शुरू भएको छ । स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पूरा गर्ने कुनै मुद्दा छैन ।’